नेपालमा राजनीतिक परिवर्तन, चुनावी सभा र नेता

धेरै गम्भीर नबनीकन सतही रुपमा नै इतिहासलाई हेर्ने हो भने नेपालमा ठुलाठुला राजनीतिक परिवर्तन भए । वर्तमान परिस्थितिलाई नियाल्दा त राजनीतिक परिवर्तन आवश्यकताभन्दा बढी नै पो भयो कि ? छिट्टै तीव्र बहस होला । बहस मात्र होइन, अर्को परिवर्तनका लागि ठुलै आन्दोलन हुने सम्भावना पनि त्यत्तिकै देखिँदै छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा रुपान्तरित भएपछि दोस्रो आवधिक निर्वाचन आगामी मंसिर ४ मा सम्पन्न हुँदै छ । यतिखेर नेताहरु भोट माग्न तल्लीन छन् । चुनावलाई लक्षित गरी विभिन्न चुनावी सभा पनि भइरहेका छन् । चुनावी सभाले राजधानीका र जिल्लाका पार्टी प्यालेसहरु व्यस्त नै देखिन्छन् । चुनावी सभालाई नियाल्ने हो भने राणकालका भन्दा पनि सामन्ती शैली र सोचका चुनावी सभा भइरहेको मज्जाले देख्न सकिन्छ ।
चुनावी सभामा आफ्ना कार्यकर्ता र मतदाताको समस्या के छ ? उनीहरुको समाज निर्माणको नयाँ भिजन के छ ? बुझ्नु त परै जाओस् चुनावमा कसरी विजय हासिल गर्न सकिन्छ भन्ने जस्तो उमेदवारलाई अहिले नै तत्काल आवश्यक कुरा पनि सोधिँदैन । मतदाताको अहिलेको सोच र चिन्तन कस्तो छ भन्ने कुराको मापन गर्नुपर्छ भन्ने हेक्का अहिलेका विचरा हाम्रा नेतालाई कहाँबाट होस् ।

चुनावी सभामा अगाडि अलिकति अग्लो मञ्च बनाइएको हुन्छ त्यहाँ सोफा सजाइएको हुन्छ किनकि त्यहाँ नेता बस्ने हो । उनीहरु नागरिकभन्दा अग्ला हुन् । त्यति मात्र कहाँ हो र ? अब कार्यक्रम सञ्चालकले आशन ग्रहण गराउँछन् नेतालाई, राजामहाराजालाई जसरी । नेताको वरियता हुन्छ बढो उदेक लाग्दो । कार्यक्रम सञ्चालकलाई सबैले ध्यान दिएर सुन्छन् । त्यहाँ कस्को नाम कतिखेर बोलाउँछ, कस्को कतिखेर । फलानाको भन्दा मेरो नाम पछि बोलायो त्यसले मलाई अपमान गर्यो फलानोभन्दा त म सिनियर हो नि । अब खासखुस हुन थाल्छ । फलानालाई त आयोजकले ठेगान लगाइदियो नि । यति मात्र कहाँ हो र ? उमेदवार नेताले नै कार्यक्रम सञ्चालकलाई गाली नै गर्न पुग्छ फलानोलाई किन अगाडि नबोलाको ? बोलाउनु पर्दैन ? विचरो कार्यक्रम सञ्चालक के गरोस् ? उसले पनि त त्यत्रा मान्छेका अगाडि कार्यक्रम चलाउन पाएको छ । भोलि म पनि सामन्ती नेता बन्छु कि भन्ने सपना होला, उसको पनि । यस्तै यस्तै चुनावी सभा छन् अचेल बजारमा ।

आफ्नै श्रीमती, भाइभतिजा, सालासाली, अनि गलतलाई पनि सही भनिदिने हनुमानलाई टिकट दिनुपर्ने, चुनावी सभाम गइदिनु पर्ने, उनीहरुलाई अग्लो मञ्चमा राखिदिनुपर्ने, हात जोडिदिनुपर्ने, दिनदिनै फेरिएका अस्थिर कुरा सुनिदिनु पर्ने, भोट पनि हालि दिनुपर्ने ? यही हो त लोकतन्त्र ? लोकतन्त्रमा जनता नै सर्वोपरि भनेको होइन ?

अग्लो मञ्चमा बस्न चाहनेले अलिकति प्रतिनिधि सभाको बैठकलाई नियाले हुन्थ्यो नि, जहाँ बैठक रुलिङ गर्ने सभामुख मात्र अग्लो ठाउँमा बस्छन् । त्यहाँ प्रधानमन्त्री पनि तलै अगाडि बस्छन् नि । यस्ता चुनावी सभामा पनि कार्यक्रम सञ्चालक मात्र अग्लो ठाउँमा बसेर कार्यक्रम सञ्चालकले वक्तालाई बोलाएपछि मात्र उठेर माइक्रोफोन अगाडि गएर आफ्ना कुरा राख्ने संस्कारको विकास गर्नै नहुने ? अर्थात् नेता जनता बन्नै नहुने ? नेता जनता बराबर हुनै नहुने ?

समाजको आवश्यकता के हो ? नागरिकका समस्या र चाहना के छन् ? आफ्नो भूगोलको कसरी विकास गर्न सकिन्छ ? नागरिकको जीवनस्तर कसरी सुधार्न सकिन्छ ? देशमा उत्पादित वस्तुलाई कसरी निर्यात गर्न सकिन्छ ? परनिर्भरता घटाउन कसरी सकिन्छ ? कुनै नेताको योजना नै छैन ? यदि यी कुरा सोध्यो भने नेताको रेडिमेड उत्तर हुन्छ । सबै काम चुनाव जितेपछि गर्ने हो । चुनाव जित्दै आएको ३० वर्षभन्दा बढी भयो त कहिले आउलान्, यी प्रश्नका उत्तर । हेर्दै जाऔँ आसन्न निर्वाचनपछि पनि यस्तै सँस्कार, सोच र चिन्तनले जरो गाड्ला या साँच्ची नै मञ्चीय सामन्ती सोच र शैलीमा परिवर्तन होला र लोकतन्त्रमा हरेक नागरिकको सम्मान होला ?


Recommended For You

About the Author: Sajha Voice