काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत संस्कृत मावि रानीपोखरीले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीको स्वागत तथा कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीको लागि विदाइ कार्यक्रम राष्ट्रिय सभागृहमा गरेको छ ।
नवप्रवेशी विद्यार्थीको चाप बढेका कारण राष्ट्रियसभामा कार्यक्रम गर्नुपरेको विद्यालयका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले बताए । उनले काठमाडौँ महानगरपालिकाले शिक्षामा जुन किसिमले लगानी गर्दै प्राथमिकतामा राखेको छ,त्यसको प्रतिफल दिन विद्यालय लागि परेको पनि बताए ।
संस्कृत माविमा पहिला विद्यार्थी आउँदैनन् कि भन्ने चिन्ता रहन्थ्यो तर अहिले आएका विद्यार्थीलाई राख्न सकिँदैन कि भन्ने चिन्ता रहेको अधिकारीको भनाइ छ ।
स्वागत तथा विदाइ समारोह वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता एवं काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर, काठमाडौँ महानगर शिक्षा विभागका विभागीय प्रमुख सीताराम कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले गर्नुभएको थियो ।
