ललितपुर । ह्याप्सा नेपाल (HAPSA Nepal), भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान, श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठान र महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनाामा “ह्यान्ड्स–ओनली सिपिआर तथा चोकिङ प्राथमिक उपचार” सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
उद्घाटन सत्रमा महालक्ष्मी नगरकी उपप्रमुख लक्ष्मी महर्जनले जीवनरक्षा तालिमलाई प्रत्येक टोल र विद्यालयसम्म पुर्याउन आउँदो हिउँदे अधिवेशनमै आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा नागरिकको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसका लागि आवश्यक बजेट छुट्याउन म व्यक्तिगत रूपमा पहल गर्छु।”
महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले “समन्वय, सहकार्य र सहअस्तित्व” को भावना भित्र यस्ता जीवनरक्षा तालिमहरूलाई नगरभरि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक प्रा. डा. रीता थापाले चार संस्थाको ऐतिहासिक सहकार्यको प्रशंसा गर्दै सिपिआर र चोकिङ प्राथमिक उपचार दुवै समुदायका लागि अत्यन्त आवश्यक जीवनरक्षा सीप भएको बताउनुभयो ।
श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानका अध्यक्ष नन्दकिशोर श्रेष्ठले आपतकालीन अवस्थामा समुदायका व्यक्तिहरु नै पहिलो प्रतिक्रियाकर्ता हुने भएकाले यस्ता तालिम सर्वसाधारणसम्म पुर्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । ह्याप्सा नेपालका अध्यक्ष पंकज भट्टराईले संस्थाले हालसम्म गरेका उपलब्धि तथा जीवनरक्षा तालिमको महत्वबारे जानकारी दिनुभयो।
तालिम ह्याप्सा नेपालका प्रमाणित प्रशिक्षक कृतिका भण्डारी, डा. सन्तोष थापा र डा. लोकनाथ पौडेलले संयुक्त रूपमा संचालन गरेका थिए।
सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यावहारिक र समुदायमै प्रभावकारी हुने बताउनुभयो । तालिम महालक्ष्मी नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो, जसमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय नर्स, स्वास्थ्यकर्मी तथा नगरपालिकाका कर्मचारी गरी ३१ जना सहभागी भएका थिए।
