नेपाल कारखाना श्रमिक संघ काठमाडौँ जिल्लाको चौथो अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल कारखाना श्रमिक संघ काठमाडौँ जिल्लाको चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष नेत्र विक्रम थापाले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई योगदान‌मा आधारित सामाजिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । थापाले योगदानमा आधारित सामाजिक सुरक्षा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई उनीहरूको स्वास्थ्य सुरक्षा, बालबच्चाको शिक्षादीक्षा र भविष्यको सहज जीवनयापनको लागि पनि अपरिहार्य भएको बताएका हुन् ।

अधिवेशनको उद्‌घाटन समारोहमा प्रमुख अतिथि थापाले मजबुत संगठन निर्माण भए मात्र सेवा सुविधा र हक अधिकार प्राप्त गर्न सहज हुने ठोकुवा गर्दै सक्षम नेतृत्व चयन गरी संगठनलाई मजबुत बनाउन निर्देशनसमेत दिएका थिए ।

त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर खड्‌काले सं‌ग‌ठित कारखानाहरू र उद्योगहरूमा सामाजिक सुरक्षा लागु हुँदा केही बुँदाह‌रू‌मा श्रमिकहरुलाई असजिलो पर्ने भएकोले ट्रेड युनियन कांग्रेसले त्यस्ता बुँदालाई परिमार्जन गर्न पहल गर्नुपर्ने बताए । खड्काले मातहतका युनियनहरुले पनि CBA को माध्यमबाट समधान गर्नको लागि पनि प्रतिस्ठान लेभल‌को युनियनलाई मजबूत बनाउन आग्रह गरे। नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले सामाजिक सुरक्षाका जटिलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य एवं कारखाना श्रमिक संघका केन्द्रीय कोषाध्यक्ष चन्दन झाले सामाजिक सुरक्षा सदस्यता शुल्क र केन्द्रीय समितिले गर्दै आएका गतिविधिहरूको बारेमा प्रस्ट पारेकी थिइन् । उनले संगठित श्रमिकशक्तिबाट नै समस्याहरूको सहजीकरण र निर्मुलिकरण हुने बताएकी थिइन् ।

अधिवेशनले सरजिप महर्जनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । नव निर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला अध्यक्ष देवीप्रसाद भुसाल, ntuc बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाई, कारखाना श्रमिक संघका महासचिव लक्ष्मी त्रिपाठी, कारखाना श्रमिक संघका उपमहासचिवलगायतले शुभकामना व्यक्त गरेका थिए ।


Recommended For You