अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् मार्च-८ मनाइ रहँदा नेपाली महिलाको अवस्था


महिला मानव सृष्टिको जननी मात्रै नभई मानव जीवनका जग पनि हुन् । महिला आमा, दिदी, बहिनी अनि श्रीमती पनि हुन् । आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमती साथी सङ्गिनीको प्रगाढ मायाको पछ्यौरीभित्र पुरुषका जीवनका अवयव चलायमान हुन्छन् ।

जनसङ्ख्याको हिसाबले नेपालमा पुरुषभन्दा महिला बढी छन् । नेपाली समाजमा अशिक्षाका कारण धेरै महिलाले आधारभूत अधिकारबाट वञ्चित रहेर जीवनयापन गर्नु परेको छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच न्यून छ । शिक्षा कम, साक्षरता प्रतिशत कम, न्यून रोजगारीको अवस्था विद्यमान छ । पितृसत्तात्मक सोचको वर्चस्व छ । परम्परागत रूपमा जातपातको भेदभाव छ । चाँडो विवाह, छोरीभन्दा छोराको महìव छ । अशिक्षा, नारी शिक्षाको कमी जस्ता कारणले महिलाको स्तर विकास हुन सकेको छैन । लैङ्गिक भिन्नताका कारण लैङ्गिक असमानता, साधन र स्रोतबाट वञ्चित आदि कारण महिलाको स्तर निकै पछाडि छ ।

विगत केही वर्षयता चेतनाको विकाससँगै महिलाले पनि घरबाहिर निस्केर काम गर्न थालेको देख्न सकिन्छ । यसले महिला हक अधिकार र सशक्तीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेकै छन् । त्यस्तै नेपालको संविधानमा समेत महिलासम्बन्धी हक सुनिश्चित गरेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरुषसरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोही घोषणापत्रका बुँदालाई आधार बनाई काम भइरहेको छ । तैपनि महिलाको स्तर माथि उठ्न सकिरहेको छैन ।

सहरी क्षेत्रमा छोरा र छोरीको शिक्षामा खासै फरक नदेखिए पनि गाउँघरतिर अहिले पनि छोरीको शिक्षालाई अनावश्यक बोझ ठान्ने प्रवृत्ति कायमै छ । सहर बजारतिर महिलाको अवस्था केही माथि उठे पनि दुर्गम जिल्लाका महिलाको अवस्था उही मेलापात, घाँसदाउरा र चुलोचौकोमा सीमित छ ।

नेपालको संविधानले लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ । समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको सबैले स्वीकारेकै अवस्था छ । लैङ्गिक समानतालाई विकास र समृद्धिमा रूपान्तरण नगरेसम्म देशको दिगो विकास, समानता, शान्ति र समृद्धि स्थापना हुन नसक्ने तथ्य विश्वले आत्मसात् गरिसकेको छ । नेपाल सरकारले लैङ्गिक हिंसा सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । महिलाविरुद्ध हुने हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाइएको छ । यद्यपि, यस्ता हिंसामा कमी आउन सकेको छैन ।

नेपालमा आर्थिक उपार्जनमा सक्रिय महिलाको सङ्ख्या ठूलो छ, जसको आर्थिक स्रोतमा पहुँच छैन । पारिश्रमिकबिनाको सेवामूलक घरायसी जिम्मेवारीमा करिब तीन चौथाइ महिला संलग्न छन् । पुरुषको तुलनामा महिला ठूलो अनुपातमा कृषि कार्य, घरायसी व्यवस्थापनजस्ता कार्यमा संलग्न छन् । औपचारिक वा जीविकोपार्जनका वैकल्पिक अवसरको अभावले देशको आर्थिक वृद्धिमा महिलाको सहभागितालाई सीमित बनाइएको छ । साथै यसमा महिलाको योगदानले पनि उचित स्थान पाएको छैन । लैङ्गिक मापदण्डका कारण महिलाले निर्वाह गर्ने उत्तरदायित्वलाई सम्मान नदिनु आजको समस्या हो ।

आर्थिक क्षेत्रमा महिलाको कम पहुँच छ । एक त उनीहरू प्रायः प्रत्यक्ष रूपमा आयआर्जन हुने काममा सहभागी हुने अवसर नै पाउँदैनन् अर्कोतर्फ आफैँले गरेको कमाइ खर्च गर्ने स्वतन्त्रतासमेत छैन । नेपालको सन्दर्भमा प्रायजसो महिला कृषिमा संलग्न छन् । जसबाट उत्पादित अन्न बेचबिखन गर्दा पनि त्यसबापत हुने आम्दानी महिलाको नियन्त्रणमा हुँदैन । त्यसैले नेपाली महिला आर्थिक रूपले निकै पिछडिएको अवस्था छ । आर्थिक रूपमा कमजोर हुँदा रोजगारीका लागि विदेशिने महिलाको सङ्ख्या पनि बढ्दो छ ।

नेपाली महिलाको सामाजिक अवस्था पनि दयनीय छ । नेपालमा वैदिककालदेखि नै महिलालाई दुर्गा, सरस्वती, लक्ष्मीका रूपमा पुजिँदै आएको पाइन्छ ।

‘जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ ईश्वरको पनि बास हुन्छ’ भन्ने भनाइ पनि हाम्रो समाजमा चलेको छ । तैपनि महिलामाथि हुने विभेद, शोषण र सामाजिक कुप्रथाले महिलाको विकास हुन सकिरहेको छैन । महिलाको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक अवस्था निकै नै कमजोर देखिन्छ । लैङ्गिक भिन्नताका कारण असमानता, साधन र स्रोतका कारण अवसर आदिका कारण महिलाको स्तर निकै पछाडि छ । नेपालमा महिलाप्रति विगतमा गरिँदै आएका विभेदपूर्ण कार्यजस्तो महिलालाई सन्तान जन्माउने साधनका रूपमा मात्रै लिने, अचल सम्पत्ति, जायजेथा आदि पुरुषको नाममा दर्ता हुने, महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने, महिलाले बालबच्चा तथा बूढाबूढीको स्याहारसुसार गर्नुपर्ने, छोरा र छोरीबीच भेदभाव गर्ने, महिलालाई निम्न स्तरको काम लगाउने, दाइजो प्रथाजस्ता विभेद आदिका कारण महिलाको सामाजिक अवस्था दयनीय छ । नेपालमा सामाजिक तथा पारिवारिक कामको विभाजन यसरी गरिएको छ कि पुरुषलाई स्वच्छन्द र स्वतन्त्र भएर बाँच्ने र महिलालाई भने पराधीन र पराश्रित भएर कुण्ठित जीवन व्यतित गर्न बाध्य बनाइएको छ ।

आधुनिक विज्ञान र प्रविधिको यो युगमा पनि परम्परावादी सोच, चिन्तन तथा दृष्टिकोणका कारण नेपाली समाजमा महिलाविरुद्धको हिंसा जारी नै छ । अझै पनि दाइजो र तिलकको निहुँमा दिनहुँ कैयौँ नारीले ज्यान गुमाउन परिरहेको छ । योजनाबद्ध ढङ्गले आगो लगाइएको यातना र हिंसा सहन नसकेर आत्महत्या गर्न विवश बनाइएको छ । लोग्ने र परिवारका अन्य सदस्य मिलेर कुटपिट सहनुपरेको छ । यस्ता अमानवीय कार्यले नेपाली समाजमा महिलाको अवस्था दुःख लाग्दो छ । नेपालमा महिला शताब्दीऔँ देखि सामाजिक हिंसा र भेदभावको सिकार हुँदै आएका छन् । देशमा विद्यमान सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताले समेत त्यस्तो भेदभावयुक्त वातावरण सिर्जना गर्न मद्दत पु¥याएका छ ।


Recommended For You

About the Author: Sajha Voice