काठमाडाैँ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त हुनुभएको छ । उहाँ सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।
नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिए। उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभएको छ । विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उहाँले त्यहाँको एमडी यहाँको एमबिबीएस सरह अध्ययन गर्नुभयो । विसं २०५० मा एमडी यहाँको एमबिबीएस सरहको चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । डा न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरेका थिए ।
उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गर्नुभएको थियो । विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स विपीकेआइएचएस धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताएका थिए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए । क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाउनुभएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान दिए ।
