काठमाडौँ । नेपालमा ईटाको प्रयोग पौराणिक काल देखिनै प्रयोग भएको देखिन्छ । पौराणिक कालका मठ, मन्दिर, देवालय पाटी, पौवा आदि निर्माण हुँदा ईटाको प्रयोग भएको पाइन्छ । केही वर्ष अघि बुद्धको जन्म स्थल लुम्बिनीको तिलौराकोटको उत्खनन गर्दा भेटिएका भग्नावशेषवाट पनि ईटाको प्रयोग भएको देखिन्छ । नेपालको सन्दर्भमा लिच्छवीकाल, मल्लकाल हुँदै हालसम्म निर्माणका काममा ईटा प्रमुख निर्माण वस्तुको रुपमा रहँदै आएको छ । पौराणिक कालमा उत्पादन भएको ईटा र हाल उत्पादन भई राखेको ईटाको आकार, ढाँचामा खासै फरक नभएपनि यसको उत्पादन गर्ने प्रविधिमा भने समय सापेक्ष परिवर्तन र सुधार हुँदै आएको छ । शुरुका दिनमा भुसे तथा अवाल प्रविधिका ईटा उद्योगहरुबाट ईटा उत्पादन हुँदै आएपनि पछिल्लो चरणमा ईटा उत्पादनमा नयाँ प्रविधिको प्रयोग गरिँदै आएको छ ।
दक्षिण एसियामा नेपालले अवलम्बन गरेको नयाँ प्रविधि नमूनायोग्य भएको छ । ICIMOD को पहल र सहयोगमा हाल भारत, पाकिस्तान, बंगलादेश र नेपालका ईटा उद्योग महासंघहरु सहभागितामा Federation of South Asian Brick Kiln Association (FABKA) नामको संगठन गठन भई यसको सचिवालय नेपाल ईटा उद्योग महासंघको कार्यालयमा रहेको छ र हाल यस महासंघले त्यसको नेतृत्व गरिरहेको छ । दक्षिण एशियाली मुलुकहरुमा सञ्चालनमा रहेका फिक्स्ड चिम्नि ईटा उद्योग मध्ये श्ष्न(श्बन प्रविधिको सर्वोत्तम मानिएको छ ।
आजकै दिन यस महासंघको स्थापना भएको हो । ईटा उद्योगीहरुले भोग्नु परेका समस्याहरुको पहिचान गरी सरोकारवाला निकायहरुसंँगको समन्वयमा समाधान गर्ने, नेपाली श्रमिकहरुलाई रोजगारी प्रदान गर्ने, ईटा उद्योगहरुको प्रवर्धन, सम्वर्धन गरी ईटाको आपूर्तिमा आत्मनिर्भर हुने अभिप्रायले तत्काल नौ वटा संस्थापक संघहरु सदस्य रहेको नेपाल ईटा उद्योग महासंघको स्थापना २०६४ साल वैशाख १२ गते भएको हो । हाल यस महासंघमा देशभर २५ ईटा उद्योग संघमा करिव ६५० सदस्य उद्योगहरु आबद्ध रहेका छन् ।
नेपालका ११०० ईटा उद्योगले औसतमा प्रति ईटा उद्योग ३०० अदक्ष कामदारलाई पनि रोजगार प्रदान गर्दै आएका छन् । जसबाट कम्तिमा तीन लाख व्यक्ति स्वेदशमै प्रत्यक्ष रोजगारीमा जोडिँदा लाखौँ परिवारको जीवन गुजारामा योगदान पु¥याउने काम भइरहेको छ । अर्काेतिर ईटा उद्योगले स्थानीय सरकारलाई तोकिएको कर तिर्दै आएको छ भने मूल्य अभिवृद्धि कर, आयकर वापत देशभरका ईटा उद्योगहरुले अर्बाैँ रुपियाँ राजस्वमा योगदान पु¥याईरहेका छन् ।
हाल नेपालमा प्रतिवर्ष १० खर्ब रुपियाँ बराबरका सरकारी ठेक्का पट्टाबाट भौतिक पूर्वाधारका संरचना निर्माण हुने गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा कम्तिमा २० प्रतिशत ईटा प्रयोग हुने गरेको अध्ययनहरुले देखाएको छ । त्यसैले नयाँ नेपाल निर्माणको क्रममा यस उद्योगको महत्वपूर्ण योगदान रहेको कुरा सहजै अनुमान गर्न सकिन्छ ।
नेपालले वार्षिक व्यापार घाटा व्यहोर्दै आइरहेको वर्तमान परिस्थितिमा हामी ईटामा आत्मनिर्भर भएका छौँ । जसले गर्दा ईटाका लागि भारततर्फ जाने वार्षिक अर्बाैँ रुपियाँको व्यापार घाटा कम गर्नमा यस उद्योगको महत्वपूर्ण भूमिका रहेको छ ।
यति हुँदाहुँदै पनि हामी हरेक दिन चुनौतीसँग लडिरहेका छौँ । खुला आकाशमुनि व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले आकाशमा बादल मडारिँदा डराउनु पर्ने स्थिति छ । पानीले काँचो ईटा बिगारिँदा हरेक वर्ष इटा व्यवसायीले करोडौँको नोक्सानी व्यहोर्नु परिरहेको छ । महासंघले काँचो ईटाको बिमा गराउने नीति ल्याउन सरकारसँग लामो समयदेखि लबिङ गर्दा हालसम्म त्यो नीति आउन सकेको छैन । सो नीति ल्याउन सरकारसँग हामी जोडदार माग गर्दछौँ ।
हामी विश्वका अरु मुलुकले प्रयोग गरेका आधुनिक प्रविधिमा जान चाहान्छौँ । त्यसका लागि सरकारले औजार, उपकरणमा अनुदान र भन्सार महशुल छुटको व्यवस्था गर्नुपर्ने हामीले माग राखेका छौँ । अर्काेतिर दक्ष प्राविधिक उत्पादन र दक्ष कामदार उत्पादन गर्न नेपाल सरकारले व्यावसायिक तालिम प्रदान गर्नुपर्ने देखिएको छ । जसले गर्दा स्वदेशमा उत्पादन भएका दक्ष व्यक्तिले स्वदेशमै रोजगार पाउने वातावरण सिर्जना हुन जान्छ ।
हाल ईटा उद्योगमा प्रयोग हुने कोइला भारत, इण्डोनेशिया तथा अमेरिकाबाट आयात हुने गरेको भएपनि गुणस्तरीय कोइला आउन नसक्दा एकातिर प्रदूषणको मात्रा बढ्ने र अर्काेतिर व्यवसायीले महँगो कोइला खरिद गर्नुपर्ने अवस्था छ । यसका लागि सरकारले कुनै निकायलाई गुणस्तरीय कोईलाको आयात गर्ने व्यवस्था मिलाउन सके गुणस्तरीय कोईलाको आयात भई प्रदूषणको मात्रा घटाउन सक्ने अवस्था आउने तर्फ सरकारको ध्यानाकर्षण गर्न चाहान्छौँ ।
कोभिड पछिको विश्वव्यापी आर्थिक मन्दीको प्रत्यक्ष असर ईटा उद्योगमा पनि परिरहेको छ । हाल बजारमा ईटाको माग कम्तिमा ६० प्रतिशत घटेको छ भने उत्पादन गरेका ईटाहरु ईटा उद्योगमा मौज्दातकोे अवस्थामा रहेका छन् । एकातिर बैँक तथा वित्तीय संस्थाको चर्काे ब्याज र अर्कोतिर बजारमा ईटा विक्री हुन नसक्ने अवस्थाले ईटा उद्योगीहरु पीडित हुँदै गएका छन् । फलस्वरुप हाल ईटा उद्योगहरु विगतको तुलनामा ६० प्रतिशत उद्योग बन्दको अवस्थामा छन् । सञ्चालित उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको मुश्किलले ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । जसले गर्दा ईटा उद्योगीले लागत भन्दा पनि कम मूल्यमा ईटा विक्री गर्नुपरेको छ भने ईटा उद्योगले दिने रोजगारीमा पनि कटौती भइरहेको छ । यो समस्या प्रति सरकारको ध्यान आकर्षण गर्न चाहान्छौँ ।
अर्काे गहन विषय के छ भने २०७२ सालको महाभूकम्पले इटाले निर्माण गरेको भौतिक संरचनाको भन्दा ढुङ्गा प्रयोग भएका संरचनामा बढी क्षति भएको यथार्थलाई दृष्टिगत गरी तत्पश्चात बनेका संरचना निर्माणमा ईटाको प्रयोगलाई बढावा दिनु पर्ने नीति निर्माण तथा सचेतना आवश्यक देखिएको छ । ईटाको विकल्पमा अरु कुरा बलियो र भरपर्दाे हुन सक्दैन भन्ने यो कुराप्रति सचेत हुन सबै सरोकारवाला निकाय, आम नागरिकलाई अपिल पनि गर्न चाहान्छौँ ।
धन्यवाद ।
