पाउने भयो नेपालमै बनेको सवारी साधनले नम्बर प्लेट

नेपालमा बनेका सवारी साधन दर्ता गर्न मिल्ने भएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरेर दर्ता गर्न मिल्ने बनाइएको छ । यातायात व्यवस्था विभागको १३ वैशाख २०८० को निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो ।

निर्देशिकाको नयाँ बुँदा बमोजिम विदेशबाट पाटपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन । नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत पेस गर्नुपर्ने विभागले जनाएको छ ।


Recommended For You