वडा नं. ६ मा एक दिने कौसी खेती तालिम सम्पन्न

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ६ मा एक दिने कौसी खेती तालिम सम्पन्न भएको छ काठमाडौं महानगरपालिका कृषि तथा पशुपक्षी विभाग कृषि महाशाखाको आयोजनामा भएको उक्त तालिममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक जानुका भण्डारी श्रेष्ठको अध्यक्षतामा भएको तालिमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार लामाले कौसीमा तरकारी उत्पादन गर्दा ताजा तरकारी खान पाउनुका साथै हरित सहर निर्माणमा समेत टेवा पुग्नुको साथै फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

अध्यक्ष लामाले घरमै उत्पादन भएको फोहोरको व्यवस्थापन घरमै गरी प्राङ्गारिक मल बनाई उक्त मलको प्रयोग गरी फलाएको तरकारीबाट लाभ प्राप्त गर्न सकिने बताएका थिए। उनले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध पनि गरेका थिए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले समेत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको लामाको भनाइ थियो ।

कार्यक्रममा विशेष अतिथि काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा सदस्य लिला बिशुंखेले सहरमा कौसी खेती प्रवर्द्धनका लागि महिला दिदीबहिनीहरूलाई तालिम दिएर जागरूक गरिएको बताइन् । उनले तिव्र सहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएको अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौसी खेती तालिमको व्यवस्था गरिएको बताएकी थिइन् । उनले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध पनि गरेकी थिइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य पशुपतिनाथ (श्याम) खतिवडाले आयोजकलाई धन्यवाद दिए । उनले श्री बौद्धनाथ क्षेत्र विकास समितिले पनि दुई पटक कौसी खेती तालिम प्रदान गरिसकेको जानकारी दिएका थिए । आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप आयोजित कौसी खेती तालिममा सिकेको सिप व्यवहारमा लागु गर्न खतिवडाले अनुरोध गरेका थिए ।

कार्यक्रममा वडा सदस्य देव बज्राचार्य, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य राग्वा शेर्पालगायतले शुभकामना दिएका थिए । तालिम श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा भएको थियो ।

सहभागिहरुलाई पट, बक्स तथा ग्रो व्यागको तयारी, विरुवा रोप्ने तरिका, कौसी खेतीका लागि आवश्यक सामाग्री, प्रयोग गर्ने विधि, विरुवाको हेरचाह, मल खाद दिने तरिका, काँटछाँट गर्ने तरिका लगायतका बारेमा प्रशिक्षक अशोक कुमार भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए । सोही तालिममा सहभागीहरुलाई कम्पोस्ट मल, बिउबिजन कोकोपिट ,ग्रो ब्यागलगायतका समग्री समेत प्रदान गरिएको थियो ।


Recommended For You