काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा आठले दश दिने बेकरी तालिम सम्पन्न गरेको छ । आफ्ना वडावासीलाई स्वरोजगारमूलक बनाउने उद्देश्य अनुरुप बेकरी तालिम दिइएको थियो ।
बेकरी तालिम गत असार तीन गतेदेखि दिइएको वडा अध्यक्ष आशामान सङ्गतले बताए । उनले तालिममा २५ जनाको सहभागिता रहेको जनाउँदै वडाले आफ्ना वडावासीलाई विभिन्न तालिम दिई सीपमूलक बनाउन आफू लागि परेको बताए । तालिममा सहभागी अधिकांशले तालिम प्राप्त गरेपछि आफैँले केही गरेर जिउन सकिने आत्मविश्वास बढेको बताएका थिए । सहभागीले आगामी दिनमा पनि यस्तै सीपमूलक तालिम दिनुपर्ने उनीहरुको भनाइ थियो । बेकरी तालिम जयबागेश्वरीस्थित ताम्रेश्वर मन्दिर परिसर दिइएको थियो ।
बेकरी तालिमको समापन समारोह तालिम संयोजक एवं वडा ८ की वडा सदस्य सलोनी वडारीको संयोजकत्व तथा वडा अध्यक्ष आशामान सङ्गतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन समारोहमा बेकरी तालिममा सहभागी भएका प्रशिक्षर्थीहरुले तयार पारेका बेकरी परिकार पनि राखिएका थिए ।


