नेपाल लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भइसकेपछि गत वैशाखमा स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भयो । स्थानीय निर्वाचनमा मुख्य केही नगरमा अनपेक्षित परिणाम आए । अनपेक्षित परिणाम मध्ये धरान उपमहानगरपालिका पनि एक हो , त्यही उपमहानगरका मेयर हुन् हर्क साम्पाङ ।
राजनीतिक दलका नेताको अकर्मन्यताबाट जनता वाक्क थिए । दलप्रतिको वितृष्णाभन्दा पनि दलका नेताले आफ्नो पार्टीलाई निजी कम्पनी जसरी चलाएकाले दलका नेतालाई जनताले झापड दिए । अनि हर्क साम्पाङजस्ता सामाजिक अभियन्ताले लौरो चिन्ह लिएर प्रमुख पदमा विजय हासिल गरे ।
अब राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भयो । विश्लेषण हुन थाल्यो, उपप्रमुखलगायत वडा अध्यक्ष, वडा सदस्य सबै राजनीतिक दलका कार्यकर्ताले जितेको ठाउँमा प्रमुख मात्र स्वतन्त्रको ठिङ्ग उभिएर के गर्न सक्छ र ? यस्तो विश्लेषण एकातिर ठिक पनि थियो अर्कातिर परम्परागत सोच र चिन्तनले हाम्रो दिमाग भरिएको पनि थियो, छ ।
अन्य पालिकाका स्वतन्त्र प्रतिनिधिभन्दा हर्क साँच्चि नै पृथक निस्किए । उनमा मेयर भएकोमा त्यस्तो अहङ्कार देखिएन । त्योभन्दा ठुलो कुरा उनमा परम्परागत सोच र कार्यशैली ढाल्छु भन्ने आत्मविश्वास बलियो देखियो । जुन आत्मविश्वासले मेयर भएको २ महिनाकै अन्तरालमा उनले पकुवा खोलाको मुहानबाट श्रमदानमार्फत् कम्तीमा २ वटा वडालाई पुग्ने पानी धरानमा ल्याउने काम गरे । उनको चुनावी नारा पनि धरानलाई पानी खुवाएर नै छोड्छु भन्ने थियो । आफ्नो प्रतिबद्धता उनले बिर्सेनन् । जस अनुरूप उनले आफ्नो ठाउँ आफैँले बनाउनुपर्छ भन्ने नारा अगाडि सारे । आफैँ श्रमदानमा खटिए । हर्क साम्पाङले सुरू गरेको श्रमदान अभियानमा हजारौँले साथ दिए । यस कामले उनको आत्मविश्वास झनै बढेको पाइन्छ । हर्क साम्पाङमा न त कुनै हतासपन छ न असफल हुन्छु कि भन्ने त्रास छ । उनमा मात्र समाज परिवर्तन गर्न सक्छु भन्ने दृढ विश्वास छ ।
एक दुई वटा कार्यपालिका बैठकमा वडा अध्यक्षहरूले होहल्ला गर्न खोजे पनि उनको राष्ट्रभक्तिपूर्ण काम गर्ने शैलीले अहिले धरान उपमहानगरका उपमेयर र वडा अध्यक्ष अनि कार्यपालिका सदस्यहरूको नै शिर झुक्ने अवस्थामा पुगेको छ ।
हर्क साम्पाङ आफैँ ढुङ्गा बोक्छन्, गिटी कुट्छन्, पाइप बोक्छन् र नयाँ पुस्तालाई काम सानो हुन्न भन्ने सन्देश दिन्छन् । उनले गरेका यस्ता कामले आज हर्क साम्पाङ देशभरिकै नेता र सामाजिक अभियन्ताको केन्द्रविन्दु बन्न पुगेका छन् । मेयर चढ्ने गाडी बेचेर नगरपालिकाको बाटो बनाउने रोलर किन्ने साम्पाङको निर्णयले अझ चर्चा कमाएको छ ।

हुन त साम्पाङको कार्यशैलीको आलोचना गर्नेहरू पनि भित्रभित्र भेटिन्छन् किनकि तिनीहरूको मनोविज्ञान परम्परागत राजनीतिक शैलीले ग्रसित छ । नेता भएपछि कुर्सीमा बसेर नीतिनिर्माण गर्ने र निर्देशन दिने मात्र हो भन्ने परम्परागत सोचले ग्रसित व्यक्तिहरूले आलोचना गर्नु स्वभाविक पनि हो ।
तर, जनताको बिचमा बसेर ढुङ्गा बोक्ने, बेल्चा चलाउने र समाज परिवर्तन गर्न सक्ने दृढ इच्छाशक्ति भएको मेयर हर्क साम्पाङले राजनीतिको परम्परागत सोच र शैलीलाई ढालेर नयाँ राजनीतिक शैली निर्माण गर्ने सङ्केत भने अवश्य देखाएका छन् । त्यसका लागि चाहिने त्याग र निस्वार्थता पनि हर्क साम्पाङमा भरपुर रहेको देखिन्छ ।
