काठमाडौँ । घट्टेखोला नागार्जुनमा रक क्लाइम्बिङ परीक्षण हुने भएको छ । काठमाडौँबाट नजिकै नागार्जुन नगरपालिका वडा नं. ६ घट्टेखोला छेउको चट्टानमा रक क्लाइम्बिङ हुने भएको हो ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीको नेतृत्वमा गएको एक टोलीले आज उक्त स्थलको सम्भाव्यता अवलोकन गरेको हो । अवलोकन गर्दा काठमाडौँबाट नजिकै रक क्लाइम्बिङका लागि अत्यन्त उपयुक्त रहेको जनाइएको छ ।
प्रकृतिको सुन्दर काखमा रहेको घट्टेखोला छेउको पहरो चट्टानमा रक क्लाइम्बिङको विकास गर्न सके स्थानीयका लागि रोजगारको अवसर सिर्जना गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए । उक्त स्थलमा रक क्लाइम्बिङको विकासका लागि स्थानीय युवाहरूले पनि पूर्ण साथ दिने बुढाथोकीको भनाइ रहेको छ ।
नागार्जुन वडा नं. ६ को उक्त स्थानमा रक कलाइम्बिङको व्यवस्थित विकास गर्न सके रक क्लाइम्बिङका सौखिन व्यक्तिहरू काठमाडौँबाट नजिकै रक क्लाइम्बिङको भरपुर मज्जा लिन सक्नेछन् । आन्तरिक एवं बाह्य पर्यटकको घुईँचो लाग्ने सम्भावना पनि त्यत्तिकै रहेको छ ।

