प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त अनुगमन

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीको नेतृत्वमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त अनुगमन भएको छ ।

अनुगमनको क्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले अबको राजनीति होस् या पेसा व्यवसाय होस् कृषिमा केन्द्रित भएर गर्नुपर्ने बताए । ”हामीले हाम्रो देशमा मनग्ये उत्पादन गर्न सक्ने कृषि उपज पनि आयात गरिरहेका छौँ अनि कसरी समृद्धि हासिल गर्न सकिन्छ ?” बुढाथोकीको भनाइ थियो । उनले सरकारले कृषकलाई उत्प्रेरणा दिई बजारसँगको तालमेल गराउन सके कृषिबाट नै ठूलो रोजगारीको अवसर सिर्जना गर्न सकिने पनि बताए ।

अनुगमनका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नागार्जुन -८ मा नेपाल एग्रो सोलुसन प्रा. लि., ए.एस अलित्प्रपोज एग्रो सोलुसन प्रा.लि लगायतका कृषि फर्महरूको अनुगमन गरिएको थियो । अनुगमन गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान प्राप्त गर्ने कृषकले अनुदानको राम्रो सदुपयोग गरेको पाइएको छ ।

नेपाल एग्रो सोलुसन प्रा. लि. का सञ्चालक पाण्डव श्रेष्ठले वार्षिक २/३ करोडको फुल बेच्ने गरेको बताए । २०/२२ वर्षदेखि यस क्षेत्रमा लागेको १५/१६ वर्ष राम्रो नभएको तर ५/६ वर्ष यता निकै राम्रो भएको श्रेष्ठको भनाइ थियो ।

त्यस्तै ए.एस अलित्प्रपोज एग्रो सोलुसन प्रा.लि. का सञ्चालक अञ्जना आचार्यले बजारको अध्ययन गरेर व्यवसाय गरेमा राम्रो उपलब्धी हासिल गर्न सकिने बताइन् । नेपालीहरूमा बजार नबुझी काम गर्ने अनि घाटा भयो भन्ने प्रचलन रहेको आचार्यको भनाइ थियो । सरकारले प्रविधिमा कृषकलाई विशेष सहयोग गर्नुपर्ने समेत पाइएको छ ।


Recommended For You