काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० महिला सञ्जाल समितिले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको सहयोगमा ‘चेक अनादर र साइबर सुरक्षा’सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
प्रहरीवृत्त मालीगाउँ, काठमाडौँका प्रहरी निरीक्षक दाबा तेन्जी शेर्पाले ‘चेक अनादर र साइबर सुरक्षा’ सम्बन्धी आफ्नो प्रस्तुति दिनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले समस्या आएमा सोध्न र बुझ्न हिच्किचाउनु नहुने बताउनुभयो । समस्या लुकाएर समाधान नहुने उहाँको भनाइ थियो । कार्कीले समस्या प्रहरीसमक्ष भन्न अप्ठ्यारो लागेमा वडाका जनप्रतिनिधिलाई भने पनि प्रहरी समक्ष पुर्याइदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
वडा नम्बर ३० कै सदस्य मनोज कुमार डंगोलले प्रविधिको विकास सँगसँगै धेरै कुरा सहज भएका छन् । त्यसैबाट समस्याहरु पनि आएका छन् । त्यसैले सचेतता अपनाउन सबैलाई आह्वान गर्नुभयो ।
यसैगरी वडा नम्बर ३० महिला सञ्जाल समिति संयोजक एवं वडा सदस्य इन्दु सिंहले सामाजिक सञ्जालबाट महिलाहरूले नै धेरै पीडा भोग्नुपरेको हुँदा यस किसिमको सचेतना कार्यक्रम राखिएको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले सामाजिक सञ्जालको प्रयोग गर्दा आइपरेका समस्याका बारेमा उत्सुकतापूर्वक जिज्ञासा राखेका थिए। सहभागीहरूले यस किसिमको कार्यक्रम समयसमयमा गरिरहनुपर्ने सुझाव पनि दिएका थिए ।
