
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहरको उद्यान अथवा पार्कमा सबै बराबर हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल गोपीकृष्ण नगर आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पाञ्चायन मन्दिर भजन मण्डल तथा हरियाली उद्यानको उद्घाटन गर्दै थापाले सो कुरा बताउनुभएको हो ।
थापाले भन्नुभयो, “सहरको त्यसमा पनि महानगरको आफ्नै परिचय हुन्छ । सहरमा धेरै जनसङ्ख्या हुन्छ, भिडमभाड हुन्छ, धनीगरिब हुन्छ, प्रतिस्पर्धा हुन्छ ; यो स्वाभाविक हो । विपत्तिबाट बच्न खुल्ला ठाउँ चाहिन्छ । सार्वजनिक उद्यान अर्थात् पार्क चाहिन्छ । पार्क विपत्तिबाट बच्न मात्र होइन, सबै नागरिक बराबर हुने ठाउँ पनि हो । यहाँ कोही ठुलोसानो हुँदैन । पार्कमा र्र्याङ्किङ हुँदैन, सबै नागरिक समान हुन्छन् । त्यसका लागि पनि खुल्ला सार्वजनिक क्षेत्रको अति आवश्यक हुन्छ । यसको संरक्षण र विकासमा सबैको योगदान हुनुपर्छ । तर, हाम्रो देशमा कतिपय सरकारले नै अतिक्रमण गर्ने कतिपय तल नागरिकस्तरबाट पनि अतिक्रमण हुँदै आएको छ, यसलाई रोक्नुपर्छ । सरकारले नै खुल्ला क्षेत्र देख्यो कि संरचना बनाइदिहाल्ने अवस्था छ । यो अवस्थाको अन्त्य हुनुपर्छ । जसरी ७ नं. वडाले अहिले भएको खुल्ला क्षेत्रलाई संरक्षण गर्न पहल गरेको छ । उद्यान बनाएको छ, सार्वजनिक जग्गामा सरकारी भवन बनाउन नै अनुमती दिँदैन, दिएको छैन । वडाले गरेका यस्ता महत्वपूर्ण कामलाई हामी सबैले साथ दिनुपर्छ ।” थापाले धोवीखोला करिडोरलाई व्यवस्थित गर्ने योजना समेत कार्यक्रममा सुनाउनुभएको थियो ।
वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले भन्नुभयो, “वडाले वडावासीको मागअनुसार काम गरिरहेको छ। यहाँ शिव पाञ्चायन मन्दिरमा बसेर भजनकिर्तन गर्ने ठाउँ थिएन । अब बसेर भजनकिर्तन गर्न सक्नुहुन्छ । हरियाली उद्यान निर्माण गरेका छौँ । खुल्ला व्यायामशाला छ । सबै स्थानीयबासीले व्यायाम गर्न सक्नुहुन्छ । वडाले स्वास्थ, शिक्षा, पूर्वाधारका क्षेत्रमा गर्न सक्ने र वडाको अधिकार क्षेत्रभित्र रहेको काम गर्न वडा कहिल्यै पछि परेको छैन, पर्दैन ।”
खुल्ला क्षेत्र अतिक्रमणका सन्दर्भमा वडा अध्यक्ष होडाको भनाइ छ, “तत्कालीन नगर आवास आयोजनाले पाँच प्रतिशत खुल्ला क्षेत्र छोड्नुपर्नेमा खुल्ला क्षेत्रको जग्गा चलचित्र विकास बोर्ड, विमा समिति र साझा स्वास्थ्यलाई हस्तान्तरण गरेको थियो । यसले खुल्ला क्षेत्र घटेको छ । विमा समितिले त आफ्नो प्रयोजनमा नराखी आन्तरिक राजस्व कार्यालयलाई भाडामा नै दिएको छ । खुल्ला हुनुपर्ने ठाउँमा घर बनाएर भाडामा दिने काम सरकारी संयन्त्रबाट नै भएको छ ; यस्तो हुनुहुँदैन । अब साझा स्वास्थ्यलाई हस्तान्तरण गरिएको जग्गा खुल्ला क्षेत्र नै हुनुपर्छ र चलचित्र विकास बोर्ड र विमा समितिलाई पनि उपयुक्त स्थानमा स्थानान्तरण गरी खुल्ला क्षेत्रलाई स्थानीयकै हितमा उपयोग गर्न दिनुपर्छ ।”
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य उज्ज्वल अर्यालले भन्नुभयो, “स्थानीयको मागबमोजिम भजन मण्डल तथा हरियाली उद्यान निर्माण गर्न हामी सफल भयौँ । अब यसको संरक्षणमा स्थानीय वडाबासीको महत्वपूर्ण भूमिका हुन्छ । संरचना निर्माणभन्दा पनि संरक्षण गर्न चुनौति हुने भएको हुँदा संरक्षण गर्न स्थानीबासीलाई आह्वान गर्दछु ।”
कार्यक्रमका अवसरमा २०८१ को SEE परीक्षाम ३.४५ GPA सहित शतप्रतिशत नतिजा ल्याई सामुदायिक विद्यालयतर्फ महानगरपालिका प्रथम हुने श्रम राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपाललाई नेपालको झण्डासहित कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी सामुदायिक हित सेवा समिति चावहिल, निर्माण व्यवसायी र सार्वजनिक निर्माण विभाग काठमाडौँ महानगरपालिकालाई समेत सम्मान गरिएको थियो ।