इन्द्रजात्रा राष्ट्रिय पर्व, सबै मिलेर मनाउनुपर्ने : संयोजक आशामान सङ्गत

काठमाडौँ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले इन्द्रजात्रा कुनै व्यक्ति वा संस्थाको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभएको छ । उहाँले सबै मिलेर यसको गरिमा र महत्वअनुसार मनाउनुपर्नेमा जोड दिनुभयो ।

इन्द्रजात्राको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक सङ्गतले काठमाडौँ महानगरपालिकाले यस पर्वलाई “मेरो जात्रा होइन, हाम्रो जात्रा” भन्ने अवधारणामा अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले जात्रालाई मर्यादित, व्यवस्थित र सबैले सहज अवलोकन गर्न सक्ने वातावरण बनाउन महानगरपालिका सक्रिय रहेको उल्लेख गर्नुभयो ।

सङ्गतका अनुसार, इन्द्रजात्रा केवल परम्परागत संस्कारको निरन्तरता मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोक्ने पर्व पनि हो । यसलाई बाह्य मुलुकबाट आउने पर्यटकलाई आकर्षित गर्दै ऐतिहासिक तथा सांस्कृतिक गहनता बुझाउने खालको अवसरका रूपमा उपयोग गर्ने तयारी गरिएको छ ।

“काठमाडौँको इन्द्रजात्रा काठमाडौँमै सीमित छैन, यो सम्पूर्ण नेपालकै पहिचान दिने पर्व हो । यसलाई संसारभर देखाउन सकिने गरी प्रस्तुत गर्ने लक्ष्य लिइएको छ,” संयोजक सङ्गतले बताउनुभयो ।

Recommended For You