
काठमाडौँ । चन्द्रागिरि नगरपालिका र वडा कार्यालयहरुबाट आ.व. २०८१/०८२ मा सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यहरुको वार्षिक समीक्षा तथा मूल्यांकन सम्पन्न भएको छ ।
दुई दिनसम्म (भाद्र १६ र १७ गते) नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा वडा कार्यालय र विभिन्न शाखाहरुले सो अवधिभर भएका प्रगतिका विवरण, असल अभ्यास तथा उल्लेखनीय कामहरु प्रस्तुत गरेका थिए । प्रस्तुतिकरण सम्बन्धित वडा सचिव र शाखा प्रमुखहरुले गर्नुभएको थियो ।
समीक्षा बैठक नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, विषयगत समितिका संयोजक, वडा अध्यक्ष, न्यायिक समितिका सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, वडा सचिव, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
वक्ताहरुले सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रगति समीक्षामा आफ्ना धारणा राखेका थिए । साथै, आगामी दिनमा लिनुपर्ने नीतिगत तथा व्यवहारिक कदमबारे समेत सुझाव प्रस्तुत गरिएको थियो ।