
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो आइतबार जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाएका छन् । अर्थमन्त्री शर्मा तिनै व्यक्ति थिए जसले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि आरोप झेल्न नसकी २५ दिन अगाडि राजीनामा दिएका हुन् । प्रधानमन्त्री देउवाले २५ दिनपछि सोही मन्त्रालयको जिम्मेवारी शर्मालाई दिए । पहिला पनि शर्मालाई अर्थमन्त्रालय राम्ररी ड्राइभ गर्न नसकेको आरोप लाग्दै आएको थियो ।अर्थतन्त्र धर्मराएर मूल्यवृद्धिले आकाश छोइसकेको अवस्थामा विज्ञ व्यक्तिलाई अर्थमन्त्रालय जिम्मा दिनुपर्ने सुझाव नदिइएको होइन तर प्रधानमन्त्री देउवाले पुनः शर्मालाई नै अर्थमन्त्रालयको बागडोर सुम्पेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर जनार्दन शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गर्नासाथ देउवाले पनि अर्थमन्त्री नियुक्त गरिहाले । त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितल निवासमा शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरे । शपथपछि मन्त्रालय पुगेका शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले पुन: नियुक्तिपछिको पहिलो निर्णयको फाइल पेस गरे । उनले त्यसमा हस्ताक्षर गरे खासै केही बोलेनन् पनि । अर्थ सचिव मधुकुमार मरासिनी थिएनन्, आएनन् ।पछि सञ्चारकर्मीसँग पुनः नियुक्त अर्थमन्त्रीले तीन मिनेट जति सम्बोधन गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन नेता अर्थात् सिफारिसकर्ता आफ्ना अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । उनको चेहरा उडेको थियो । मनमा प्रशन्नता थिएन । शक्तिहीन जस्ता क्षिण थिए ।
पुनः नियुक्त अर्थमन्त्री जनार्दन शर्माको कान्तिहीन अवस्थाले मन्त्रीको पगरी गुथे पनि गलत भइरहेको बताइरहेको पाइन्थ्यो । हिजो राजाले मन्त्री नियुक्त गर्नु र आजका नेताले मन्त्री नियुक्त गर्नुमा फरक के छ ? जनार्दन शर्मालाई मन्त्री दिनु थियो अन्य मन्त्रालय दिए पनि हुन्थ्यो । फेरि त्यत्रो विवादमा परेर राजीनामा दिएका मन्त्रीलाई फेरि मन्त्री किन बनाउनुपर्यो ? माओवादीमा अरू नेता सकिएकै हो ? ४/५ महिनामा त चुनाव भइहाल्छ अनि मन्त्री बनाए हुँदैनथ्यो ? यसको मतलब चुनाव जितिन्छ नै भन्ने छैन नेताहरूलाई ।
प्रसङ्ग उठाओैँ नेताहरूको मनोविज्ञानको पाटो कस्तो छ त भन्ने । उनीहरूले न पार्टीको भविष्य सम्झेका छन् न देशकै । मात्र मौका छाड्नुहुन्न भन्ने मनोविज्ञानले उनीहरू ग्रसित छन् । नेताहरूलाई नागरिकको मनोविज्ञान कस्तो छ ? कि थाह छैन कि नजिकका दासहरूले गलतलाई पनि सही भनेर सुनाइरहेका छन् । ठुलो सङ्घर्षबाट चुनाव जितेर आएका नेताको चिन्तन यस्तै हुन्छ कि कुर्सीमा पुगेपछि त्यहाँको भूतले अन्धो बनाइदिन्छ ? सारा नागरिकको मन, चिन्तन र सोचाइ एकातिर अनि नेताहरूको बुझाइ र काम गराई अर्कातिर किन भइरहेछ ? नेताको होस् या नागरिकको हाम्रो जीवनशैली उस्तै होइन ? हिजोका शेरबहादुर, प्रचण्ड,केपी माधवहरू किन आफ्नो विगतलाई भुल्छन् । उनीहरूको मन र मष्तिष्कले के सोचिरहेको हुन्छ ? मन्त्री पद दिनेले दिए लिनेले लिए के उनीहरू सन्तुष्ट होलान् त ?
संसदीय छानबिन समितिले जनार्दन शर्मालाई क्लिनचिट दिए तापनि संसदीय छानबिन समितिको अनुसन्धान नेतालेबाहेक कसैले विश्वास गरेका छैनन् । यस्तो अवस्थामा अर्थात् सम्पूर्ण जनताको मनोविज्ञान विरूद्ध जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउनु भनेको आम सर्वसाधारणको मनोविज्ञानमाथि नेताले गरेको सामुहिक कुठाराघात हो । लोकतन्त्रको खिल्ली उडाइएको हो ।
आगामी निर्वाचनमा कुन कुन पार्टी को को सँग गठबन्धन गर्ने हुन् । कुन कुन नेताले जित्ने हुन् अहिले नै भन्न सकिन्न । प्रधानमन्त्री भइसकेका नेतालाई चुनावबाट विश्राम दिनुपर्छ भनेर केही युवा समूहले सामाजिक सञ्जालमा अभियान नै चलाइसकेका छन् । के थाहा शीर्ष नेता सबै परास्त हुन पुग्ने पो हुन् कि ? त्यसैले यही मौकामा जे गर्दा पनि हुन्छ भन्ने मनोविज्ञान हो कि नेताको ! यस्तै व्यक्ति मात्र पोषित र पालित गर्ने नेताको मानसिक रोगले नागरिकले अझै धेरै दुःख झेल्न बाँकी छ । मन्त्री लिनेले लिए दिनेले दिए उनीहरूको मनोविज्ञान आफू मात्र सन्तुष्टि लिइहालौँ भन्नेभन्दा पर छैन । आगामी निर्वाचनमा जनता सचेत नभए यिनै नेताले नागरिकलाई अझै दुःखको भुमरीमा हाल्ने निश्चितप्राय: छ ।
