
लोकतन्त्रको सुन्दर पक्ष भनेको नै निर्वाचन हो । निर्वाचनले नै व्यक्तिलाई सत्ताको बागडोर साम्हाल्न सक्ने ठाउँमा पनि पु¥याउँछ भने सत्ताको मान्छेलाई सडकमा पु¥याउने क्षमता पनि निवार्नचनले नै राख्ने गरेको हुन्छ । नेपाली राजनीतिमा पनि हामीले धेरै पात्रहरुलाई सत्तामा पुगेको र सडकमा पुगेको पनि देखिसकेका छौँ ।
नेपालमा भर्खरै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । मत परिणाम पनि लगभग आइसकेको छ । यद्यपि केही क्षेत्रको परिणाम आउने क्रम जारी नै छ । यसपालिको निर्वाचनमा केही नयाँ पार्टी र नेताको सशक्त उदय भएको छ भने पुरानो राजावादी पार्टी राप्रपाको पनि राम्रै पुनरागमन भएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीले सबै राजनीतिकर्मीको घण्टी बजाइदिएको छ । लोकतन्त्रको सुन्दरता नै यही हो । सत्तामा पुगेर राम्रो गर्न नसक्ने राजनीतिक दल र नेतालाई जनताले सजायँ दिन्छन् ।
लोकतन्त्रको पक्षमा सधैँ अग्रपक्ङ्तिमा रहेको र हरेक परिवर्तनको आन्दोलनमा नेतृत्व गरेको नेपाली काँग्रेस पार्टीमा पनि यसपालिको निर्वाचनबाट शालीनता र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिको संसदमा सशक्त प्रवेश भएको छ । ती व्यक्ति नै हुन् झापा क्षेत्र नं। १ बाट पहिलो पटक निर्वाचित सांसद विश्वप्रकाश शर्मा । सोही क्षेत्रबाट दुई पटक पराजित विश्वप्रकाश शर्मा यस पटक भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । विश्वप्रकाश शर्माको विगतलाई थोरै नियाल्ने हो भने उनको जीवनमा विजय र पराजय विपरीतार्थी शब्द नभई पर्यायवाची शब्द भएका छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष शर्मा नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा झापा जिल्ला सभापति उठे, पराजित भए । जिल्ला सभापतिमा पराजित भइसकेपछि उनी केन्द्रीय सदस्य उठेनन्, उनलाई लाग्यो जिल्लाले नपत्याएको मान्छे केन्द्रमा उठ्नु नैतिकता होइन । नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेको व्यक्ति केन्द्रीय सदस्य जित्न सक्थ्यो । उता संसदीय निर्वाचनमा पनि उनी पराजित नै भए । १३ औँ महाधिवेशन आयो । शर्मा केन्द्रीय सदस्य भए । उता फेरि प्रतिनिधिसभा सदस्यमा पराजित भए तर उनी विचलित भएनन् । भनिन्छ राजनीतिमा धैर्य गर्नुपर्छ, समय आउँछ । समय आफैँ त आउँदैन कर्मले समय ल्याउने हो शर्माले कर्म गर्दै गए ।
नेपाली काँग्रेस गुटउपगुटले गुजुल्टिएको छँदै थियो, छ । यता गगन थापा पनि काँग्रेस राजनीतिमा सशक्त रुपमा उदाएका थिए । उनको काउन्टरका लागि सभापति देउवाले विश्वप्रकाशलाई प्रवक्ता मनोनित गरे । प्रवक्ता ह्ँदा शर्माले केवल आफू मात्र केन्द्रविन्दुमा रहन खोजेनन् । उनले सिङ्गो पार्टीको गरिमालाई नै माथि उठाउन काम गरिरहे । सभापतिबाट चिप्लिएका कुरालाई पनि अत्यन्त बौद्धिक र शालीन रुपमा बचाव गरिरहे । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आयो । महाधिवेशनमा फेरि गुट र उपगुटमा काँग्रेस राजनीति लाग्ने नै भयो । सत्ताको बागडोर पनि समातेका शेरबहादुर देउवा टिमबाट महामन्त्रीमा विश्वप्रकाश शर्मालाई राख्छन् भन्ने आम नेपाली काँग्रेसका कार्यकर्ताको अपेक्षा विपरीत गुट र आफू केन्द्रित राजनीति गर्ने सभापति देउवाले विश्वप्रकाशलाई आफ्नो टिममा राखेनन् । शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री उठे । शेरबहादुर टिमका महामन्त्रीलाई उनले मज्जैले हराइदिए । आफ्नो टिमका महामन्त्रीविहीन भएका देउवाले कहिल महामन्त्री गगन थापा र कहिले महामन्त्री विश्वप्रकाशलाई प्रयोग गर्ने नीति अख्तियार गरेका थिए । निर्वाचन आयो दुवै महामन्त्री निर्वाचनमा अत्यधिक बहुमतले विजयी भएका छन् । उता देउवाका धेरै विश्वासपात्र निर्वाचनमा पराजित भएका छन् ।
विगतमा आफूलाई पराजित गर्ने उम्मेद्वारलाई आफ्नै हातले उनेको माला लगाइदिने सँस्कार बोकेका विश्वप्रकाश हारबाट कहिल्यै विचलित भएनन् । हारलाई सहज रुपमा लिने विश्वप्रकाश शर्मा यतिखेर भने राजनीतिको केन्द्रविन्दुमा पुगेका छन् । लोपप्रियताको शिखरतर्फ उन्मुख पनि भइरहेका छन् । परिवर्तन चाहने युवाको मनोविज्ञान बुझेका शर्माले चाहेको भए,आफू केन्द्रित राजनीति गर्ने भइदिएको भए, आफैँलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न सक्थे तर विश्वप्रकाश शानीनता र समन्वयकारी भूमिकाका प्रतीक हुन् त्यसैले उनले निर्वाचनमा जानु अगाडि नै अबको प्रधानमन्त्रीमा गगन थापा अगाडि बढ्नुपर्छ भने । निर्वाचनमा विजयी भइसकेपछि पनि उनी आफ्नो विचारमा विश्वस्त छन् र भनेका पनि छन्, ‘गगन थापालाई संसदीय दलको नेतामा प्रस्तावक बस्छु भन्नु मात्र मेरो कर्तव्य होइन, संसदीय दलको नेतामा सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेल्नु पनि आफ्नो कर्तव्य हो । त्यसैका लागि शर्मा झापाबाट काठमाडौँ आएर गगनलाई ढाडस दिए, शुभकामना दिए । गगनलाई शुभकामना दिँदा उनले सांसद भएकोमा बधाई तथा शुभकामना दिएनन् प्रधानमन्त्री बन्न शुभकामना दिए र फेरि आफ्ना मतदातासँग आशीर्वाद लिन झापा फर्किए । यसले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उचाइ झनै बढेको छ ।
राजनीतिमा उदाउन सजिलो छ तर उदाएपछि टिकिराख्न निकै कठिन छ । विश्वप्रकाश शर्माको यो किसिमको उदयले नेपाल देशले साँच्चै एक आदर्शवादी र देशको समग्र हितमा काम गर्न सक्ने नेता प्राप्त गरेको छ भन्ने आम बुझाइ देखिन्छ । हेरौँ विश्वप्रकाशको अग्निपरीक्षा शुरु भएको छ । के विश्वप्रकाश नेपाली राजनीतिमा शालीनता र समन्वयका प्रतीक बन्न सक्लान् त ?
