क्रान्ति बाँकी नै रहेछ नि !

०६२/०६३ को आन्दोलनपछि नेताहरूले भनेका थिए, ”क्रान्तिले पूर्णता पायो, अब देश समृद्धिको बाटोमा लाग्नेछ ।” १५/१६ वर्ष बिते, देशले समृद्धिको बाटो होइन अधोगतिको बाटो समाइरहेको छ । नागरिकमा चरम निराशा छाएको छ । खुसी छन् भने उच्च नेता तथा कर्मचारी र ठुला व्यापारी मात्र । उनीहरूबाहेक देशमा सबै दुःखी र चिन्तित मात्र छन् ।

सबैभन्दा ठुलो कुरा युवा पङ्क्ति देशमा बस्नै चाहँदैन । देशका नेता र देशको परिस्थितिका कारण उनीहरूलाई देशमा केही हुन्छ अथवा यहीँ केही गर्न सकिन्छ भन्ने रत्तिभर विश्वास छैन । त्यस्तै शिक्षाको गुणस्तरको मापन गर्ने हो भने पनि शिक्षाक्षेत्र ध्वस्त बनिसकेको छ भन्दा फरक पर्दैन । त्रिभुवन विश्वविद्यालयले कर्मचारी माग गर्यो तर लिखित परीक्षामा एक जना परीक्षार्थीले नाम निकाल्न सकेनन् । शिक्षाको अवस्था कस्तो छ यसैबाट छर्लङ्ग हुन्छ । त्यसैले विद्यार्थी १२ कक्षा अर्थात् एस्.एल्.सी उत्तीर्ण गरिसकेपछि उच्च शिक्षा देशमा लिनै चाहँदैन । यसले कस्तो भविष्यको सङ्केत गरिरहेको छ त ? नेताहरूलई यस्ता पक्षपट्टि चिन्तन गर्न सक्ने क्षमता या फुर्सद् नै छैन ।

अहिले उच्च वर्गको कुरै छोडौँ । मध्यम र निम्नमध्यम वर्गको पनि कुनै एक व्यक्ति अवश्य युरोप, अमेरिका या अष्ट्रेलियामा अनिवार्य छ भन्दा फरक पर्दैन । हाम्रो नेपाली परिवारमा संस्कार नै बसिसक्यो छोराछोरीलाई विदेश पठाउनुपर्छ भन्ने । छोरा या छोरी युरोप, अमेरिका या अष्ट्रेलिया हुनुलाई प्रतिष्ठाको विषयमा हेर्न थालियो यो आफैँ राष्ट्रीय हितका लागि शुभ सङकेत हुँदै होइन । उता विकसित मुलुकले एस. एल.सी. पास गरेकालाई उच्च शिक्षाको नाममा सजिलै भिसा दिने रणनीति नै अख्तियार गरिसकेका छन् । कारण एकातिर योग्य शिक्षित कामदार मुलुकमा भित्र्याउन पनि पाइने गरिब मुलुकबाट मोटो रकम पनि आउने भएकाले विकसित मुलुकले स्टुडेण्ट भिसा सजिलै दिन थालेका छन् ।

विकसित मुलुकले श्रमलाई पहिलो पुँजीका रूपमा लिन्छन् भने हाम्रो मुलुकले श्रमलाई नै उपेक्षा गरेको छ । जहाँ श्रमको सम्मान हुन सक्दैन त्यस देशको विकासको परिकल्पना नै नगर्दा हुन्छ । विकसित देशले हाम्रो देशका विद्यार्थी लगेर राम्रो शिक्षा दिने, उनीहरूको उद्देश्य हुँदै होइन । उनीहरूको उद्देश्य भनेको गरिब देशका विद्यार्थी भनेका आफ्नो देशका लागि योग्य र बलिष्ठ कामदार हो, जसलाई राष्ट्रले कुनै योगदान गर्नुपरेन । एउटा कामदार उत्पादन गर्न गरिब देशका बाबुआमाले कत्ति दुःखकष्ट सहेर कत्ति लगानी गरेर हुर्काई एस.एल.सी उत्तीर्ण गराएका हुन्छन् । त्यतिन्जेल कति लगानी भइसकेको हुन्छ । जब १८/१९ वर्ष पुग्छन्, काम गर्न योग्य र बलिष्ठ हुन्छन् अनि विदेशिन्छन् । सम्पन्न र विकसित देशले त यस्तो कुनै लगानी गर्नुपरेन त्यसैले स्टुडेन्टका नाममा धनी देशले योग्य कामदार भित्र्याइरहेका छन् । हामीले यी कुरामा ध्यान दिने कहिले ?

अझ निम्न वर्गको परिवारबाट त स्पेसल मजदुरी गर्न भनेरै विदेशिन्छन् । यस्तो विकराल समस्यामा पनि नेताहरू किन गम्भीर बन्दैनन् । के सबै युवालाई विदेश धपाएर राष्ट्र निर्माण हुन्छ ? सबैलाई विदेश धकेल्ने अनि आफू, आफन्त, आफ्ना छोराछोरी र केही हनुमाने कार्यकर्तालाई मात्र भरणपोषण गरेर कहिलेसम्म चलाउने हो,देश ? एकै छिन् ०६२/०६३ को आन्दोलनमा भनिएको थियो नि सोचौँ त ! ”क्रान्तिले पूर्णता पायो, अब देशले समृद्धिको बाटो लिन्छ ।” युवाको शारीरिक र मानसिक श्रमको सम्मान नगरी देशले समृद्धिको बाटो लेला र ? गम्भीर बन्ने कि ?


Recommended For You

About the Author: गोपाल घिमिरे

सञ्चारकर्मी गोपाल घिमिरे समसामयिक राजनीति र स्थानीय तहका गतिविधिका बारेमा कलम चलाउँछन् ।