ध्वंश गर्ने मस्तिष्कले निर्माण गर्न सक्ला र ?

हरेक मानिसमा छुट्टाछुट्टै प्रतिभा, कला हुन्छ । प्रतिभा विहीन मान्छे सायद हुँदैन पनि । जसले साधनाका माध्यमद्वारा आफ्नो प्रतिभा र कलामा निखार ल्याउन सक्छ, त्यही व्यक्ति समाजमा स्थापित हुन सक्छ । साधना भएन भने जस्तोसुकै प्रतिभा भए पनि व्यक्तिले आफैँले थाहा नपाउँदै मुर्झाउन पुग्छ । ध्वंस गर्ने र निर्माण गर्ने पनि प्रतिभा हो कला पनि हो त्यसमा साधना त चाहियो नै ।

आज विप्लवको बन्द रे ! स्कुल, कलेज बन्द भए । केका लागि बन्द ? किन बन्द ? बन्दबाट समाजले के पाउँछ ? कलिला मस्तिष्कहरूमा के छाप पर्छ ? प्रश्न अनगिन्ती उब्जन्छन् । उत्तर सभ्य समाजको निर्माण गर्न, कुशासन भ्रष्टाचारको अन्त गर्न, सबैको अधिकारको संरक्षण गर्न, न्यायमा सबैको समान पहुँच पुर्याउन, देश निर्माण गर्न अर्थात् विकसित देश बनाउन उत्तर यिनै होइनन् ।

कुनै बेला थियो । प्रचण्ड, विप्लवसँगै थिए । दुवै जना ध्वंसपछि निर्माण गर्नुपर्छ भनेर लागेका पात्र हुन् । एक किसिमको ध्वंसमा यिनीहरू सफल पनि भए । राजसंस्थाको अन्त भयो । संवैधानिक राजतन्त्र भएको देश गणतन्त्रमा प्रवेश गर्यो । ०६२/०६३ को आन्दोलनपछि नेताहरूले भनेका थिए, ”क्रान्तिले पूर्णता पायो, अब देश समृद्धिको बाटोमा लाग्नेछ । अब त ध्वंस पनि सकियो त । सबै निर्माणमा जुट्नुपर्ने होइन ?” किन देश समृद्धिको बाटो लागेन त ? यहीँ काम गर्यो ध्वंस गर्ने दिमागले निर्माण गर्दैन । प्रचण्ड, विप्लवको मस्तिष्क ध्वंस गर्ने हो निर्माण गर्ने होइन ।

इण्डोनेसियाबाट पूर्वी टिमोर छुट्टिँदा क्रान्तिनायक सनाना गुज्माओलाई एक जना पत्राकारले सोधेका थिए, ” गुज्माओ महोदय, तपाईँको क्रान्ति सफल भयो,स्वतन्त्र राष्ट्र पूर्वी टिमोरमा युद्धका अवशेष छन्, अब टिमोरको विकासको योजना के छ ?

गुज्माओले उत्तर दिएका थिए :

”हेर्नुस् मेरो ध्वंस गर्ने मस्तिष्क थियो क्रान्ति गरेँ, पूर्वी टिमोरलाई स्वतन्त्र गराएँ । मेरो निर्माण गर्ने मस्तिष्क छैन त्यसैले निर्माण गर्ने मस्तिष्क पूर्वी टिमोरको भिडबाट खोज्नुपर्छ ।”

यसबाट के स्पष्ट हुन्छ भने प्रचण्ड र विप्लवहरूको ध्वंस गर्ने मस्तिष्क थियो, गरे, सफल पनि भए । अब निर्माणका लागि उनीहरूको मस्तिष्क नै छैन, विकास कसरी हुन्छ ? विप्लवले दश वर्षे आन्दोलनको अनुभवलाई प्रयोग गरेर छुट्टै पार्टी गठन गरे त्यसबाट ऐय्यासीको जीवन बिताइरहेका छन् । तिनै विद्यालय कलेजबाट चन्दा बटुलिरहेका छन् भने प्रचण्ड सरकारमा बसेर आफू र आफ्नो परिवारका लागि जुनसुकै तिकडम गरेर भए पनि सरकारी ढुकुटी दोहन गरिरहेका छन् । सरकारमै बसेर विद्रोहको धम्की पनि दिन्छन्, दोहन गर्छन् ।आम सर्वसाधारण र कार्यकर्ता स्वयंले बुझ्नुपर्ने भनेको सबै क्षेत्रमा पारङ्गत कोही पनि हुन्न प्रचण्ड विप्लवहरूको निर्माण गर्ने मस्तिष्क छैन । ध्वंसका नायक हुन् ।

प्रचण्ड विप्लवको कुरा मात्र होइन नेपाली राजनीतिमा नेताहरूले भन्ने गरेका छन्, ” जेलनेल सहेर आएको नेता हुँ, यति वर्ष जेल बसेँ, उति वर्ष जेल बसेँ । नेताको कुरा ठिक पनि हो, जेल बसेको पनि हो । जेल बसेर त पञ्चायत ढालेका हुन् । राजतन्त्रको अन्त भएको हो । उनीहरूको मस्तिष्कले त्यही र त्यस्तै आन्दोलन गर्न सिकाउँथ्यो । जेल बस्न हिम्मत दिन्थ्यो तर निर्माण गर्न त सिकाउँदैनथ्यो । अहिले भएका देशका ठुला पार्टी काँग्रेस एमालेका शीर्ष नेता प्राय: पञ्चायत विरोधी आन्दोलनमा जेल बसेका हुन् । जेलमा निर्माणको साधना त गरेका होइनन् । त्यसैले उनीहरूको मस्तिष्कले ध्वंस सिकायो निर्माण सिकाएन । विडम्बना आजसम्म सत्तामा उनीहरू नै रहीरहे विकास अर्थात् निर्माण हुन सकेन मतलब ध्वंस गर्ने मस्तिष्कले निर्माण सिकाएन ।

ध्वंस र निर्माण विपरीत पाटा हुन् । भएकोलाई भत्काउन सजिलो छ, निर्माण गर्न कठिन छ । चाहे विकास निर्माणको कुरा होस् चाहे संस्कार संस्कृतिको कुरा होस् । निर्माण निकै कठिन विषय हो । त्यसैले आन्दोलनबाट होस् या सङ्घर्षबाट निर्माण गर्ने मस्तिष्क आउन सकेन । अर्कातिर गुज्माओले भनेको जस्तो हाम्रा नेताले नेपालको भिडबाट निर्माण गर्ने मस्तिष्क खोज्न चाहेनन् । आफू, आफन्त र गल्तीमा पनि भजन गाउनेलाई मात्र अवसर दिए नेताले । के पी ओली १४ वर्ष जेल बसेका कुरा सधैँ गर्छन् गोकुल बास्कोटाविना रथै चल्न नसक्ने जस्तो कुरा गर्छन् । देउवाको जिब्रो नागरिक स्वतन्त्रताका लागि लड्दा यातना दिएको भनिन्छ तर उनलाई प्रकाशसरण भए पुगिहाल्छ । कार्यकर्ता ध्वंस गर्ने र निर्माण गर्ने मस्तिष्क छुट्याउन सक्दैनन् । देश निर्माण कसरी होला ?


Recommended For You

About the Author: गोपाल घिमिरे

सञ्चारकर्मी गोपाल घिमिरे समसामयिक राजनीति र स्थानीय तहका गतिविधिका बारेमा कलम चलाउँछन् ।