काठमाडौँ । युएनडिपी नेपाल प्रमुख आइसानी लावेले नेपालको पर्यटन क्षेत्रमा युएनडिपीले काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ परियोजनामा सँगसँगै काम गर्न सकिने बताएका छन् । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा सो कुरा बताइएको हो ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटनको विकासको लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउँदै तालिमबाट उत्पादित जनशक्तिले पर्यटन उद्योगमा थोरै भए पनि सहयोग पुग्ने बताए । बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा. धनन्जय रेग्मीले पर्यटनसंग सम्बन्धी संस्थाहरुको माग र आवश्यकता अनुरुप तालिमहरू सञ्चालन गर्नुपर्ने आवश्यक्तामाथि जोड दिएका थिए ।
बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले कोभिडबाट पर्यटन क्षेत्र थलिएको आवस्थामा शुरु गरिएको परियोजनाले अल्पकालीन रोजगारी,पर्यटकीय प्रडक्ट निर्माण तथा जनशक्ति विकासमा काम गरिरहेको र यसबाट समग्र पर्यटन क्षेत्र लाभान्वित भएको बताए । कार्यक्रममा नाटाका अध्यक्ष रमेश थापाले परियोजनासंगको सहकार्यमा गरिएका तालिमहरुमा आकर्षण र प्रभावकारिता दुवै रहेको जानकारी दिँदै आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रममा नाटाका महासचिव कुमारमणी थपलिया,सचिव युविका भण्डारी लगायतले परियोजनासंगको सहकार्यमा भएका काम र तालिमका बारेमा प्रकाश पारेका थिए ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड-१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरुले अल्पकालिन रोजगारका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकीय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रममार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा बृद्धि गर्ने उद्धेश्यले जीविकोपार्जन पूनरुत्थानका लागि दीगो पर्यटन परियोजना संचालनमा ल्याइएको र सोही अनुरुप परियोजनाले काम गरिरहेको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।
सोही अवसरमा नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) संगको सहकार्यमा विभिन्न समयमा आयोजना गरेको पर्यटनसँग सम्बन्धित विभिन्न तालिमहरुका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष सुरेश अधिकारी, युएनडीपीका नेपाल स्थित आवासीय आएसानी लावे र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले प्रमाणपत्र वितरण गरेका थिए । परियोजनाले विभिन्न स्थानमा एअर टिकटिङ,टुर अपरेटर, कस्टमर सर्भिस गरी ३०० जनालाई तालिम दिएको थियो ।

