काठमाडौँ । नागार्जुनमा नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघ गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध रहेको नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघले नागार्जुन नगरपालिका भित्र छरिएर रहेका श्रमिकहरुलाई भेला गरी आज एक कार्यक्रमका बिच देवी रायमाझी लामाको अध्यक्षतामा ११ सदस्यीय नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघ नागार्जुन नगर समिति गठन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम सम्बन्ध विभाग संयोजक कुलबहादुर खड्काले श्रमिकको हकहित र अधिकारका लागि स्थानीय सरकारलाई घचघच्याउन हरेक स्थानीय तहमा नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघ गठन गर्न लागिएको बताए । उनले श्रमिकको श्रमले नै राष्ट्र निर्माण हुने हो, त्यसैले आफू ट्रेड युनियनकर्मी भएको नाताले श्रमिकहरूलाई संगठित गर्दै उनीहरूको पिरमर्का बुझ्दै हिँडेको बताए । खड्काले अनौपचारिक तथा स्वरोजगार श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि नेपाल ट्रेड युनियन कांग्रेसले महत्त्वपूर्ण तथा नेतृत्वदायी भूमिका खेलेको हुँदा आफू त्यस अभियानलाई सफल बनाउन पनि संगठन विस्तारमा लागेको बताए ।
नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघका केन्द्रीय अध्यक्ष तेजप्रसाद रिजाल तथा नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका अध्यक्ष देवीप्रसाद भुषालले सबै कारखानाहरु सम्बन्धित निकायमा दर्ता गरिनुपर्ने , अनुगमन हुनुपर्ने, नेपाली कामदार तथा श्रमिकलाई काममा प्रोत्साहन दिनुपर्ने, श्रम ऐन अनुसारको सेवा सुबिधाहरु श्रमिकले पाउनुपर्ने विचार राखेको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काठमाडौंका अध्यक्ष मुकुन्द बहादुर सुबेदीले जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित कामदार श्रमिकहरूले साना तथा स्वरोजगार उद्योग सञ्चालनका लागि अब युनियनका माध्यमबाट पनि आफूहरूलाई उत्प्रेरित गर्न सुझाव दिएका थिए ।


