दिगो विकास र संस्कृतः व्यावहारिकताको कसीमा केही चिन्तन, केही मनन

विषय वस्तु धेरै हुन सक्छन्, तर म दिगो विकासबाट विषय उठान गर्न चाहन्छु । दिगो विकासको लागि व्यवस्थापन विषय त महत्वपूर्ण हुने नै भयो ।

विश्व आज समृद्धिको बाटोमा लम्किरहेको छ र विश्वलाई यस बाटोमा लम्किनाका निम्ति धेरै व्यक्ति, संस्था तथा देशहरुको निरन्तर योगदान तथा सहयोगको अपरिहार्य भूमिका रहेको छ । पछिल्लो समय अर्थात् १९औं शताब्दीपछि मात्र विकास भएको एउटा विषय जसलाई विभिन्न विषयहरु बिच रहेको अन्तर सम्बन्ध बारेमा अध्ययन गरिने विषयको रुपमा पनि बुझ्न सकिन्छ– त्यो विषय हो व्यवस्थापन विषय । यद्यपि यो विषय मानिसको सुरुवाती कालदेखि नै अभ्यासमा रहेको थियो तापनि यसको वैज्ञानिक तथा प्रणालीगत अध्ययन पछिल्लो समयमा मात्रै सुरु भयो र छोटो समयमा व्यापकता पनि कमाउन सफल भएको देखिन्छ । मुख्यतः व्यवस्थापन विषयले सूक्ष्मभन्दा सूक्ष्म विषय जस्तै संवेग/समवेदनाहरुको व्यवस्थापनदेखि लिएर बृहत् विषय जस्तै वायुमण्डल वा भू–मण्डल व्यवस्थापन सम्मको विषयहरुमा प्रभावकारिता र दक्षता हासिल गर्नका निमित्त प्रयोग हुन सक्ने विभिन्न औजारहरु, सिद्धान्तहरु. विचारलगायत विभिन्न विषयहरुको अन्तरसम्बन्ध र यसमा पार्न सक्ने प्रभावको बारेमा अध्ययन गर्दछ, विकासलाई व्यवस्थित ढंगले अघि बढाउनका निम्ति पनि व्यवस्थापन विषयको अध्ययन तथा अभ्यासलाई विश्वले प्राथमिकतामा राखेको पाइन्छ ।

अब फेरि दिगो विकास तर्फ नै चर्चा गरौँ । विकास भन्ने बित्तिकै कस्तो विकास र के को विकास भन्ने प्रश्न उठ्नु स्वाभाविक नै देखिन्छ, विकासलाई अहिलेसम्म हामीले यहाँ हिजोको अवस्थामा वा वर्तमान अवस्थामा केही परिवर्तन ल्याएर विश्वको वा मानव हितको निमित्त गरिएको वा गर्ने प्रयासमा भएका उपलब्धिका रुपमा बुझ्दै आयौँ र यस्तो विकासअन्तर्गत व्यक्ति तथा व्यक्तित्वको विकास, कुनै क्षेत्र विशेषको विकास, समग्र समाजको विकास, आर्थिक रुपमा हुने विकास, प्रविधिको विकास, सोचमा आउने विकास, औषधीको विकास वा अन्य कुनै पनि प्रकारका विकास भनेर बुझ्न सकिन्छ । यी सबै खाले विकासको प्रतिफल स्वरूप विश्व आजको अवस्थामा आइपुगेको छ ।

तर यी विकासलाई मात्र उपलब्धि वा अन्तिम लक्ष भनेर हामीले मात्र होइन, अहिलेको विश्व स्वयंले पनि स्वीकार गरेको जस्तो देखिन्न । यदि यस्ता विकास मात्रै उपलब्धिको अन्तिम लक्ष्य हुन्थ्यो भने संयुक्त राष्ट्र संघले विकासको अर्को आयामको परिकल्पना तथा त्यसको अभ्यासका लागि कार्यविधिहरु मार्फत् विकासका स्वरुप तथा लक्ष्यहरुको व्याख्या गरिरहनु आवश्यक पर्ने नै थिएन होला । हो म संयुक्त राष्ट्र संघले दिगो विकास प्राप्तीका लागि तय गरेका लक्षहरु तर्फ इंगित गर्न खोज्दैछु । दिगो विकासको परिकल्पना विना गरिएका विकासका कार्यहरुले विश्वमा विकास सँगसँगै धेरै नकारात्मक परिणाम पैदा गरेको थियो तथा गर्दै पनि छ । उदाहरणको रुपमा दीर्घ रोगीहरुको संख्यामा उल्लेखनीय बृद्दि हुनु, ओजोनतह पातलिनु, विभिन्न प्रकारका प्रदूषणहरुमा उल्लेखनीय बृद्दि हुनु, विभिन्न खालका महामारीको सामना गर्नु पर्ने अवस्थाको सिर्जना हुनु, बालबालिकाहरुको मानसिक बृद्दिमा सुस्तता आउनु आदिलाई लिन सकिन्छ ।

विकासका नाममा देखिएका यस्तै प्रकारका नकारात्मक प्रभावको सन्दर्भमा दिगो विकास भन्ने एउटा अवधारणा १९८७ मा प्रतिपादन हुन पुग्यो जसले विकासका धेरै आयामहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यही दिगो विकास हासिल गर्न संयुक्त राष्ट्र संघले २००१ देखि लागू हुने गरी १७ वटा दिगो विकास सम्बन्धी लक्ष र पछि २०१५ देखि लागू हुने गरी थप आठ वर्टा सहश्राब्दी विकास लक्ष्य’ को प्रतिपादन समेत गर्यो ।

दिगो विकासको एक महत्वपूर्ण अंगको रुपमा अहिले विश्व यस्तो ज्ञानको खोजीमा केन्द्रित हुन पुगेको देखिन्छ जुन ज्ञानले विश्वलाई सन्तुलित राखी राख्न महत्वपूर्ण भूमिका खेलोस् तथा भोलिका पुस्ताले हराभरा सन्तुलित, शान्त र विकसित विश्वमा जीवन जिउन सकून् ।

यस्तो ज्ञानको भण्डार खोज्ने क्रममा हाम्रा वेद, पुराण, उपनिषद्हरुको पनि अन्वेषण गहन रुपमा हुन थालेको छ र हामी हाम्रै ज्ञानर्को अरुको व्याख्या’ आयात गरेर फेरि प्रयोगमा ल्याउन प्रयत्न गरिरहेका छौँ । उदाहरणको रुपमा अहिले व्यवस्थापनको क्षेत्रमा एक अपरिहार्य विषयको रुपमा अध्ययन गरिर्ने इमोसनल इन्टेलिजेन्स’ लाई नै लिन सकिन्छ । सन् १९९० मा मनोविज्ञानका प्राध्यापकहरुले लेखेको एउटा मनोविज्ञान सम्बन्धी लेख पढ्र्दा डानिएल गोलमान’ भन्ने अमेरिकन व्यक्तिले ‘इमोसनल इन्टेलिजेन्स’ भन्ने पदावलीको बारेमा जानकारी प्राप्त गरेका थिए । आज त्यही विषयमा उनले कयौँ किताबहरु लेखेका छन् तथा कयौँ तालिम दिएका छन । साथै उनले यसै विषयमा भारत आएर विभिन्न साधु तथा योगीहरूसँग बसेर धेरै समय अध्ययन पनि गरेका थिए । आखिर किन यति महत्वपूर्ण बन्यो त यो विषय ? किनकि यो विषयले संस्कार, स्व–जागरण, उत्प्रेरणा, सामाजिक कला तथा सहानुभूतिले व्यक्ति विकास तथा समाज विकासमा पार्ने प्रभावको बारेमा अध्ययन गरेको छ जसले समग्र दिगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यसै गरी इमोसनल इन्टेलिजेन्सलाई वैयक्तिक दिगो विकाससँग जोडेर पनि धेरैले व्याख्या गर्ने गरेका छन् ।

तर आज हामी जुन इमोसोनल इन्टेलिजेन्सलाई आयात गरी अध्ययन गर्दै छौँ, त्यही विषयलाई बुझाउन हजारौँ वर्ष पहिले नै चाणक्यले यस्तो श्लोकको प्रयोग गरेका रहेछन् –

कः कालः कानि मित्राणि को देशः कौ व्ययागमौ ।
कश्चाहं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुहुः ।

अर्थात् कस्तो परिस्थिति छ, को को मेरा साथी छन्, म कस्तो देशमा छु, मेरो आयव्यय कति छ, म को हूँ तथा मेरो शक्ति कति छ, यी सबै विषयहरुबारे बारम्बार विचार गर्नु पर्दछ र सोही अनुरुप आचरण गर्नु पर्दछ ।

अर्थात् अहिलेको इमोसनल इन्टेलिजेन्सको अवधारर्णा चाणक्य’ ले नै निर्देश गरिसकेका रहेछन् भन्न सकिन्छ ।

यो विषय त संस्कृत वाङ्मयको करोडौँ अंश मध्येको एक सानो अंश मात्र हो जसले अहिलेको विश्वमा विकास र व्यवस्थापनको क्षेत्रमा हलचल ल्याउन सफल भएको छ । तर यस्ता अनगिन्ती ज्ञानको समुद्ररुर्पी वेद’ त हाम्रै पहुँचमा रहेको हाम्रै सम्पत्तिको रुपमा हामी संगै छ र पनि यस्तो विडम्बना किन ?

‘वेद’ विद् शब्दबाट बनेको हो जसको अर्थ हुन्छ ज्ञान । ब्रम्हाण्ड, ज्योतिष, आयुर्वेद, अर्थशास्त्र, समाजशास्त्र, आत्मज्ञान, कृषिविज्ञान, नीतिशास्त्र आदि इत्यादिको ज्ञानले सम्पन्न भएका हाम्रा वेद, पुराण, उपनिषद्, श्रुतिहरु जो हाम्रा संस्कृतिका धरोहर हुन् तथा हाम्रा पहूँचमा रहेका ज्ञानका भण्डार हुन्, आज हामीबाट कोशौँ दूर भएका छन् । यसो हुनुको कारण हामीमध्ये अधिकांशलाइ यी पुस्तकहरु लेखिएको भाषाको ज्ञान नहुनु, फलस्वरूप यी पुस्तकहरुको अध्ययन गर्न नसक्नु मुख्य रुपमा रहेको देखिन्छ । अर्को कारण भनेको यी पुस्तकहरु लेखिएको समय सन्दर्भ वा परिवेश र आजको परिवेशमा धेरै भिन्नता आइसकेको छ । अध्ययन, अध्यापन, अन्वेषण, अनुसन्धान आदिले निरन्तरता नपाएको कारणले दैनिक अभ्यासमा कार्यान्वयन गर्नमा कठिनाइ उत्पन्न हुनु तथा सरलीकृत गरिएका पुस्तकहरुले पनि ती ज्ञानका मर्महरुलाई आत्मसात् गर्न नसक्नुले संस्कृतका गहन ज्ञान भण्डार ओझेलमा परेका देखिन्छन् ।

यसका कारण अझ खोतल्दै जाने हो भने ती ज्ञानको भण्डाररुपी ग्रन्थहरुको हामीबाट राम्रो अध्ययन÷अन्वेषण हुन नसक्नु तथा भएको सीमित अन्वेषणलाई पनि व्यवहारमा प्रयोग गर्ने क्षमताको विकास गर्न नसक्नु जस्ता कारणहरु प्रमुख रुपमा देखिन्छन् । यी ग्रन्थहरुमा रहेका ज्ञानको भण्डारलाई सामान्य रुपमा बुझ्नलाई मात्र पनि हामीलाई संस्कृत भाषाको ज्ञान हुनु जरुरी छ । तर विडम्बना, समाज अहिले पनि संस्कृतलाई यस्तो उद्देश्य प्राप्तिको साधनको रुपमा उपयोग गर्न लालायित देखिन्न र संस्कृतलाई संकुचित कर्मकाण्डी भाषाको रुपमा मात्र बुझ्न अभिशप्त छ ।
यसलाई अर्को पाटोबाट पनि हेर्न सकिन्छ । यसको लागि म यहाँ एउटा श्लोकको उपयोग गर्न चाहन्छु, जुन नेपाली समाजमा प्रचलित नै छ ।

अतिदर्पे हता लंका अतिमाने च कौरवाः।
अतिदाने बलिर्बद्धः अति सर्बत्र बर्जयेत।।

माथिको श्लोकले अतिवादको व्याख्या गरे जसरी नै हाम्रो समाजद्वारा पनि या त हाम्रा यी पौराणिक ज्ञानलाई अति उच्च मूल्यांकन गरिर्यो यिनका पूजा मात्रै गरियो भने पनि यसलोक तथा परलोकमा धर्म कमाइन्छ’ भनेर खोपामा राखेर पूजा गर्ने काम भयो वा अति न्यूनस्तरको मूल्यांकन गरियो र यिनको केही काम छैन भनेर दुत्कार्ने काम भयो । त्यसैले अबको खाँचो भनेको यी दुवै अतिवादबाट मुक्त रहेर पौराणिक शास्त्रहरुमा गर्भित ज्ञानको व्यावहारिक रुपमा अध्ययन गर्दै क्रमिक रुपमा अन्वेषण अनुसन्धान गर्नु नै हो जसको माध्यमबाट समाज, देश र विश्वले नै गरिरहेका क्रियाकलापहरुर्मा भ्यालु एड’ गर्न सकियोस् र दिगो विकास तथा दीर्घ समृद्धिलाई खुल्ला हृदयले स्वागत गर्न सकियोस् ।

लेखक सुनीता भण्डारी घिमिरे त्रिभुवन विश्वविद्यालयकी उप-प्राध्यापक हुन् ।

Recommended For You

About the Author: Sajha Voice