सुर्खेत । अविरल वर्षासँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको छ । नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा पनि अवरुद्ध भएको छ । मौसम सफा नभएको कारण देखाउँदै एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्केका छन् । चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
१८ असोजमा तारा एयरले सिमकोटलगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको थियो । त्यसपछि कुनै पनि उडान हुन सकेका छैनन् । कर्णालीको हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालगञ्जले मुख्य गरी निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएका कारण उडान हुन नसकेको जानकारी दिएको छ । त्यस्तै, स्थलमार्गसमेत अवरुद्ध भएका छन् । जाजरकोट डोल्पा र कर्णाली राजमार्गसमेत अवरुद्ध छन् ।
