बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरूदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ ।चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिए । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ ।
नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उनले बताए । २३ जनाको निवेदन आएकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन् । जमुना पारी जातका ६ बाख्रा, ३ बोका, बोयर जातका ६ बोका र ९ बाख्रा कृषकलाई वितरण गरेको उनको भनाइ छ । प्रमुख खड्काले भने, ‘यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिक रूपमा पशुपालनमा पनि लागेका छन्, उनीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।’
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए । उनले ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाएको जानकारी दिए । उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए । आयातीत कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताए ।
