बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले बताइन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।
ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् । बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेँसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।
बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’, व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटेल व्यवसायी रुसन सापकोटाले बताए ।
ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।
आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।आलुको उत्पादकत्व बढाउन सञ्चालित आलु जोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।
