अवकाशपछि व्यावसायिक कालिजपालनबाट मनग्य आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विष्णुमणि आचार्यले व्यावसायिक रूपले कालिज पालन गरेका छन् । उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्यले भने, “अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । ३० वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधँै कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।” सुरुमा सामाजिक सञ्जाल (युटुब)मार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरँे । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उने भने ।

“दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन् ।” आचार्यले भने । उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर २५ लाखको लागतमा कालिजपालन सुरु गरे । ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा पाँच सय ५० दरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनले एक जनालाई रोजगारी रोजगारी दिएका छन् ।

आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ ।
६ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अन्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केर मात्र नजिक जान दिने गरेका छन् ।

भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ थियो । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।


Recommended For You