काठमाडौँ ।काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम कार्यान्वयनमा आएको छ । पाठ्यपुस्तकको मात्र ज्ञानभन्दा बाह्य जीवनोपयोगी ज्ञान दिनु आवश्यक ठानी महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेको हो ।
यतिखेर शिक्षामा सीप कार्यक्रम हरेक शुक्रबार कार्यान्वयनमा ल्याइएको छ । विश्वनिकेतन स्कुल त्रिपुरेश्वरमा कोडिङ क्लब सुरू गरिएको छ । यस क्लबमा कक्षा ८ का ७ जना विद्यार्थीको समूह बनाइएको छ । सो क्लबमा डिल्लीराम पौडेल, दिनेश केसी, उद्वव गिरी र श्याम मिश्र गरी ४ जना शिक्षक छन् । कोडिङ क्लबमा विद्यार्थीले नयाँ प्रोजेक्ट बनाउने, कम्युनिकेसन गर्ने, नयाँ चिज बनाउने लगायतका नयाँ एक्टिभिटी गर्न सक्नेछन् ।
यस क्लबमा स्क्रयाचलाई कोडिङ गरेर कम्प्युटरमा विभिन्न प्रोग्राम बनाउन सक्ने क्षमताको विकास हुने काठमाडौँ महानगरपालिकाका परामर्श दाता (प्रशिक्षक) सगुन ढुङ्गाना बताउँछन् । उनी भन्छन्,”विद्यार्थीहरूले बाहिर फुटबल, बस्केटबल खेले जसरी रमाउँदै नयाँ प्रोग्राम बनाउन सक्छन् ।” उनीहरूले बनाएको प्रोग्रामको मूल्याङ्कन अथवा उपलब्धी कसरी परीक्षण गर्ने ? भन्ने प्रश्नमा ढुङ्गाना भन्छन्, ” हाम्रा विद्यार्थीहरूले निर्माण गरेका प्रोग्राम १६० देशका विद्यार्थीले हेर्न सक्ने र प्रतिस्पर्धा गर्ने नेटवर्क छ, त्यहाँबाट मूल्याङ्कन हुन्छ । विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न पनि सक्नेछन् ।
विश्वनिकेतन स्कुलमा सीप सिकाइ अन्तर्गत ब्युटिसियन तालिम पनि दिइएको छ । ब्युटिसियन तालिम लिन चाहने विद्यार्थी धेरै भएकाले गोलाप्रथा गरेर विद्यार्थी छनोट गरिएको प्रधानाध्यापक हेरम्भराज कँडेलले बताए । उनले अन्य विद्यार्थीलाई तीन महिनापछि अवसर दिने वचनबद्धता पनि गरेको बताए ।
सौन्दर्य प्रशिक्षक विमला रिजालले ब्युटिसियन कक्षा केवल सुन्दरतासँग मात्र होइन, हेल्थसँग सम्बन्धित भएको बताइन् । नेल काट्नुको सम्बन्ध हेल्थसँग भएको उनको भनाइ थियो । रिजालले हामी यस ब्युटिसियन कक्षामा नेचुरल्ली,आयुर्वेदिकल्ली सौन्दर्य सामग्री प्रयोग गर्न पनि विद्यार्थीलाई सिकाइने बताइन् । विश्वनिकेतन स्कुलमा मूर्तिकला सिप पनि सिकाइएको छ । कक्षा कोठामा नै माटो प्रयोग गरेर माटाका भाँडा, मूर्ति बनाउन विद्यार्थीहरू र शिक्षक तल्लीन भएर लागेको दृश्य अत्यन्त रोचक देखिन्थ्यो ।
विद्यार्थीहरूलाई ‘बुक फ्री डे’ रमाइलो लागेको छ ? भन्ने प्रश्नमा सबैले रमाइलो भएको बताए । केवल रमाइलो मात्र कि केही ज्ञान पनि लिएका छौ भन्ने प्रश्नमा भने केही विद्यार्थीले नयाँ ज्ञान लिएको बताए । उनीहरूले सामान्य काम हुँदो रहेछ तर हामी जान्दैनथ्यौँ । सिप विकासको कक्षा लिँदा जानेको उनीहरूको भनाइ थियो ।
”काठमाडौँ महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गरिन्”’सहायक प्रधानाध्यापक गङ्गा थापाले । हामीलाई पनि सीप सिकाई क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउन मन थियो, देशमा व्यवहारिक शिक्षाको खाँचो थियो । महानगरपालिकाले अनिवार्य रूपमा शुरू गरिदिएकाले खुसी लागेको थापाको भनाइ थियो । उनले कतिपय क्रियाकलाप गराउन ठाउँको अभाव रहेको जानकारी समेत दिइन् ।
प्रधानाध्यापक हेरम्भराज कँडेलले पनि शिक्षामा सीप कार्यक्रम देशभरिका लागि आवश्यक थियो, महानगरपालिकाले शुरू गरेकोमा माहानगरलाई धन्यवाद दिए । उनले, ” महानगरमा शिक्षामा सीप कार्यक्रम हेरेर देशका अन्य पालिकाले पनि शुरू गर्ने विश्वास समेत व्यक्त गरे ।”

