काठमाडौँ महानगरपालिका बालाजु उद्यान परिसरमा २१० ओैँ भानु जयन्ती तथा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका बालाजु बाइसधारा उद्यान कार्यालयको आयोजनामा बालाजु उद्यान परिसरमा २१० ओैँ भानु जयन्ती तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । आज २१० ओैँ भानुजयन्तीमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रामवीर मानन्धरले जुनसुकै क्षेत्रमा काम गरौँ तर २०० वर्षपछि पनि हाम्रा सन्ततीले सम्झन सक्ने काम गरौँ भने । त्यस्तै माननीय गणेश पराजुलीले देशलाई समृद्ध बनाउने यात्रामा छौँ, आआफ्नो क्षेत्रमा सबैले मिहेनत गर्नुपर्ने बताए ।

विशिष्ट अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालले बालाजु बाइस धारा परिसरलाई पुरानै प्राकृतिक अवस्थामा पुर्याउन महानगर लागिपरेको बताए । उनले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन आगामी वर्षमा शीर्षकमै बजेट पारिने पनि बताए । काठमाडौँ महानगरपालिका बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख दामोदर लामाले विद्यालयका भाइबहिनीहरू बिच कविता प्रतियोगितालगायतका सिर्जनात्मक क्रियाकलाप गरेर भानु जयन्ती मनाउने मनसाय रहेको बताए । उनले आगामी दिनमा त्यस्ता रचनात्मक कार्यक्रम गर्दै लगिने पनि बताए ।

कार्यक्रममा साहित्यकार श्रीहरि फुँयालले भानुभक्तको बारेमा संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रममा १० जना कविहरूले कविता वाचन गरेका थिए ।

नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा भानुभक्तको अतुलनीय योगदान रहेको छ । काठमाडौँ आउने क्रममा बालाजु बाइसधारा क्षेत्रमा आइपुग्दा कवि भानुभक्तले बाइसधारा क्षेत्रलाई स्वर्गकै टुक्राका रूपमा कवितामा चित्रण गरेका थिए। सो क्षेत्रमा आदिकवि भानुभक्तको प्रतिमा पनि स्थापना गरिएको छ ।


Recommended For You