चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल

दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्धस्थलको पुन: निर्माण, खोज/अनुसन्धान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी साहित्यिक पर्यटकीयस्थल बनाउने उद्देश्यले स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
‘चुँदी रम्घा बनाऔँ’ अभियानअन्तर्गत भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटलगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ । भानुजयन्तीका दिन मात्रै यस ठाउँको खोजी हुने गरेकामा अब वर्र्र्षभरी यहाँको चर्चा हुने/गराउने अभियान सञ्चालन गरी प्रचारप्रसार, पुन:निर्माणलगायत काममा यहाँका स्थानीय जुटेका अभियान्ता सन्देश आचार्यले बताउनुभयो । उनले भने, “आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेको महसुस भएपछि स्थानीय एकजुट भएर यसको प्रचारप्रसारमा जुटेका हौँ ।”
अभियान्ता आचार्यले विसं २०७८ भदौ ७ गतेदेखि ‘चुँदी रम्घा बनाऔँ’अभियान सञ्चालन गर्दै आएको छ । उनका अनुसार यस अभियानअन्तर्गत भानु स्मारकको संरक्षण, सम्बद्र्धन एवं पुन:निर्माणको तयारी गरिएको छ । स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरी थप योजना बनाइने स्थानीय राजीव श्रेष्ठले बताए । “चुँदी रम्घालाई साहित्यिक एवं पर्यटकीय थलोको रुपमा विकास गर्नका लागि केही पहलकदमी अगाडि बढाएका हौँ”, उनले भने, “पहिलो चरणमा भानु स्मारकको काम हुनेछ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।”
छलफलमा स्थानीय ज्येष्ठ नागरिक हरिनाथ आचार्यले सबैको ऐक्यबद्धताले भानु जन्मथलो पर्यटकीयस्थलको रुपमा विकास हुने बताए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस अभियानमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । समितिका कार्यकारी निर्देशक रानाभाटले शिखरकटेरीमा यसै वर्ष भानुघरको पुन:निर्माण सुरु गरिने जानकारी दिए । घर पुन:निर्माणका लागि बजेटको सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट काम सुरु गरिने रानाभाटको भनाइ थियो । “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा, माटोको घर निर्माणका लागि काम सुरु हुन्छ”, उनले भने, “नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि यस कार्यमा सहयोगका लागि अपिल गर्छौँ ।”
पश्चिमाञ्चल विकास मञ्चले भानु गृहनिर्माणका लागि २०७३ चैत २२ मा शिलान्यास गरेको थियो । मञ्चले हालसम्म गृहनिर्माण नगरेपछि समितिले पुन:निर्माण गर्ने तयारी गरेको कार्यकारी निर्देशक रानाभाटले जानकारी दिए । उनले भने, “विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।” भानुभक्तको घर पुन:निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने स्थानीयले अपेक्षा गरेका छन् । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै उपेक्षित भयो की भन्ने भान हामीलाई भइरहेको छ”, कार्यकारी निर्देशक रानाभाटले भने, “घर पुन:निर्माण गर्न सकिए यहाँ धेरै पर्यटकको आगमन हुने विश्वास गरेका छौँ ।”
२०५७ मा समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखमा उक्त घर पुन:निर्माण गरेका थिए । जङ्गलको बीचमा रहेको उक्त घरमा २०६१ जेठमा आगलागी हुँदा एक लाख २७ हजार बराबरको क्षति भएको थियो । गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्थासहित यहाँ रामायण भवन निर्माण गरिएको भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ । समितिका अनुसार पर्यटन मन्त्रालयको तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो ।

Recommended For You