काठमाडौँ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन .डिपिआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेस द्रुतमार्गको डिपिआर संशोधनको निर्णय गरेको हो । झण्डै रु दुई अर्ब दुई करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपिआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।”
काठमाडौँ–मधेस ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको र २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।
दु्रतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताए ।प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाखको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ ।
