ताप्लेजुङमा बरामद आखेटोपहार चितवन पठाउने तयारी

ताप्लेजुङ । विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ । वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिए । उनका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याकरचौँरीको करिब २५.५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो ।
कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार ०.९८१ किलोग्राम सालकको खपेटा, २.३० किलोग्राम भालुको, ४.४६ किलोग्राम याक तथा चौंरीको, १३.८८ किलोग्राम रतुवा मृगको, १.४४ किलोग्राम घोरलको तथा अन्य मृगको छाला चितवन पठाइने छ । उक्त आखेटोपहार २०७९ चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री, ओसारपसार गर्न, हस्तान्तरण गरी लिन/दिन नपाइने व्यवस्था रहेको छ ।
प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारबाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका बाघ/चितुवाको छाला, हाड, खप्पर, दाह्रा, नङ्ग्र्रा, जुङ्गा, गैँडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौँ, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिँदै आएको वन अधिकृत शाहले जानकारी दिए ।  उनका अनुसार भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकारभित्र बरामद भएका आखेटोपहार सशस्त्र वन तालिम केन्द्र चितवन टिकौली र निकुञ्ज/आरक्षणरसंरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकारभित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्जलगायतका स्थानमा भण्डारण गरिँदै आइएको छ ।
“प्राकृतिक मृत्यु भएका वन्यजन्तुबाट झिकिएका वा कानुनबमोजिम बरामद गरिएका वा अन्य जुनसुकै स्रोतबाट प्राप्त भएका आखेटोपहार कार्यालयको जिन्सीखातामा आम्दानी बाँधी राख्ने र भण्डारण गर्दा सुरक्षित थैलामा राखी आखेटोपहारको नाम, परिणाम, स्रोत प्राप्त मिति, जिन्सी खाता पाना नम्बर समेत उल्लेख गरी सिलबन्दी लाहछाप लगाई बलियो काठको वाकस वा दराजमा राख्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ”, शाहले भने । कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएका आखेटोपहारलाई ऐन अनुसार थप व्यवस्थापनका लागि चितवन पठाइन लागिएको उनको भनाइ थियो ।

Recommended For You