विश्वकोशको संज्ञा पाएको प्राज्ञ यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थको लोकार्पण

काठमाडौँ । संस्कृतिविद् जगमान गुरुङ, प्रा.डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा.नवराज लम्सालसँगै स्वयं स्रष्टा यज्ञराज उपाध्यायले ‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ कृतिको लोकार्पण गरेका छन् ।

९८४ पृष्ठको उक्त ग्रन्थलाई वक्ताहरूले विश्वकोशको संज्ञा समेत दिएका छन् । काली–कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज–अनुसन्धान गरी लेखिएको ग्रन्थको स्वस्तिवाचन सहित विविध लोकधुन र लोकगीतसँगै लोकार्पण गरिएको थियो ।

‘काली–कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ राईझुमालगायत प्रसिद्ध दउडा गीतका गायकसमेत रहेका प्राज्ञ उपाध्यायलाई ग्रन्थ तयार पार्न करिब २५ वर्ष लागेको बताइएको थियो ।

संस्कृतिविद् जगमान गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले गरेको बताए । उनले नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठूलो र उच्च कोटीको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय भएको समेत बताए ।

संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषयहरू उखान, टुक्का, लोककथा, गाथा, देउडा, दोहोरीसमेत समावेश भएको ग्रन्थ महत्वपूर्ण सङ्ग्रह रहेको बताइन् ।

डा. नवराज लम्सालले प्राज्ञ उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीता भएको उल्लेख गरेका थिए । त्यस्तै कवि एवम् भ्याली भ्यु स्कुलका प्रचार्य सुभाषचन्द्र भण्डारीले लोक साहित्यले अमूल्य निधिका रूपमा ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ प्राप्त गरेको बताए ।

ग्रन्थको लोकार्पण प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको थियो ।


Recommended For You