आदर्श आजादमा स्काउट दिक्षान्त समारोह सम्पन्न

भक्तपुर । भक्तपुर जिल्लाकै पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको समारोहमा ५८ जना नयाँ विद्यार्थीहरुलाई सदस्यता बायाजसहित दिक्षान्त दिइएको थियो ।

शुक्रवार नै २० जना स्काउटहरुलाई माथिल्लो तहको बायज अर्थात बेडेन पावेल शिखर बायज दिइएको थियो । रसुवामा रहेको एउटा हिमशिखरलाई स्काउटले बेडेन पावल शिखरको नाम दिएको छ ।
स्काउटलाई स्कार्फ र बायज दिंदै प्रमुख अतिथि रजनी जोशीले स्काउटले विपदमा गरेका कार्यको सह्राहना गर्दै भक्तपुरमा विपदमा आइपर्ने जोखिमबाट जोगाउने तरिका सिकाउनेसहित अनुशासित, कर्तव्यनिष्ठ र स्वयंसेवी भावना जागृत युवा निर्माण गर्न भक्तपुरमा स्काउटलाई अनिवार्य गर्नेतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो ।

स्काउटमा बसेका विद्यार्थीहरुलाई नेपालमा बसेर र विदेशमा पढेर आए पनि मातृभूमिकै सेवा गर्ने भावना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताउँदै स्काउटले जस्तै प्रत्येक नागरिकले दैनिक तालिका बनाइ समयबद्ध रुपमा सिलसिला मिलाएर काम गर्नुपर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिका वडा नं ५ अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेंले लगशिलता र मेहनत अनि अथक प्रयासले सफलता हासिल हुन सक्ने शुत्र ज्ञान दिनुभयो । जीवनमा हारजीत भइरहने र त्यसमाथि मातिने तथा आँटिने नभइकन कर्म गर्न सिकाउने थलोको रुपमा स्काउट रहेको स्पष्ट पार्नुभयो ।

नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले समयको महत्व रहेको र समय तालिका मिलाएर डायरी बनाएर चल्यो भने स्काउट मात्र नभई प्रत्येक नागरिकको जीवन सहज हुने धारणा राख्नुभयो ।
नेपाल स्काउट भक्तपुर नगरका स्थानीय आयुक्त बालकृष्ण बनमालाले स्काउट प्रकृतिसँग नजिक रहेको र स्काउटले प्राणीमाथि अनि प्रकृतिमाथि दया राखि पर्यावरण जोगाउने जानकारी दिनुभयो । स्काउटले दिने मितव्ययिताले सफलतातिर अगाडि बनाउने जानकारी पनि उहाँले दिनुभयो ।

भक्तपुर नगरका सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटमार्फत जीवनोपयोगी शिक्षाका साथमा व्यवहारिक ज्ञानहरु प्रयोगात्मक रुपमा दिने बताउनुभयो । आदर्श आजाद स्काउट ट्रुपका स्काउटर रत्नश्वरी चवालले स्काउटमार्फत इमान्दार र देशभक्त नागरिक उत्पादन हुने भएकाले प्रत्येक परिवारमा कम्तिमा एकजना स्काउट बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विगतमा स्काउटिङ्ग गर्न समस्या हुने गरेकोमा अहिले सहज हुँदै गएकाले विद्यालयले प्रतिवद्धताका साथ स्काउट चलाइरहेको जानकारी दिनुभयो ।

Recommended For You