बाँके । बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण सुरु भएको छ । मंगलबार राझास्थित श्री ४ नं बाहिनिमा सुरु भएको उक्त तालिम १९ सम्म सञ्चालन हुनेछ । सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता छ ।
तालिमको उद्घाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पुर्याउन र नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानवअधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरुले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिए ।उनका अनुसार पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानूनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिए । प्रमुख सेनानी सागर कार्कीले तालिमको महत्वबारे प्रकाश पारे ।
