बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले एआई सिसिक्यामेराद्वारा निगरानी गर्ने

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसिक्यामेरा जडान भएसँगै अब क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।

‘सुरक्षित काठमाडौँ उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान भइ आज उद्घाटन गरिएको हो । गत वैशाख १२ गते पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान सुरु भएको थियो । जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गरे ।

सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसिक्यामेरा जडान गरिएको प्रवक्ता मैनालीले बताए । त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनुभयो । प्रथम चरणमा सिसीटिभी जडान सकिएको र अब पुन: दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए ।

समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसीटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडाँै उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु र वडा अध्यक्षहरुलगायतको सहभागिता थियो ।


Recommended For You