सुनकोसीमा र्‍याफ्टिङ सञ्चालन गरिने

कटारी । उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीको फोक्सिन्टारदेखि धाप्लाङघाटसम्मको १३ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । विश्वकै उत्कृष्ट १० ‘ह्वाइट वाटर र्‍याफटिङ’ गन्तव्यभित्र पर्न सफल सुनकोसी नदीमा १ फागुनदेखि सुरु हुने दोस्रो प्रदेश महोत्सवका अवसरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको हो ।

जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घले १ फागुनदेखि त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने दोस्रो प्रदेश महोत्सव २०८० को अवसरमा र्‍याफ्टिङमार्फत मनोरञ्जन लिनेलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष डेबिड बस्नेतले जानकारी दिए । नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदीमा सञ्चालन हुने ह्वाइट वाटर र्‍याफ्टिङलाई विश्वका उत्कृष्ट १० भित्र पनि सातौँ नम्बरमा राखेको छ । विश्वभर गरिएको अध्ययनपछि नेसनल जोग्राफीले सन् २०१० मा सुनकोसीमा सञ्चालन गर्न सकिने र्‍याफ्टिङलाई उत्कृष्ट १० गन्तव्यमा राखेको हो ।

सुनकोसीमा र्‍याफ्टिङ सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना रहेको अध्यक्ष बस्नेतले बताए । महोत्सवमा आकर्षणका रूपमा समेत र्‍याफ्टिङलाई लिइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताए । जल पर्यटन तथा साहसिक खेलमा चासो राख्ने पारखीका लागि विशेष ध्यानमा राख्दै फोक्सिङटारबाट धाप्लाङघाटसम्म र्‍याफ्टिङमार्फत पर्यटकले मनोरञ्जन लिने सङ्घका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए । र्‍याफ्टिङमा जान चहानेका लागि गाईघाटबाट यातायातका साधनमार्फत फोक्सिङटारसम्म पुर्याइने र साउने तथा फोक्सिङटारमा खाजाको प्रबन्ध गरिने उनले बताए ।

र्‍याफ्टिङका क्रममा थ्री झर्नाको मनोरञ्जनसमेत लिन सकिने छ । फोक्सिङटारबाट सुरु भएको र्‍याफ्टिङ धाप्लाङ घाटमा आएर सम्पन्न हुने र त्यहाँ मनोरञ्जनसहित खानाको समेत व्यवस्था गरिने जनाइएको छ । धाप्लाङघाटबाट पुन: यातायातका साधनसहित गाईघाटसम्म ल्याई पुर्याउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय तोकिएको जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बस्नेतले बताए ।


Recommended For You