पौराणिक महत्व बोकेको दन्तकाली मन्दिर

धरान । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी व्रतका कारण मन्दिरमा भीड बढेको हो ।

पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथामा दन्तकालीको कथा उल्लेख छ । मन्दिरका मूल पुजारी विश्वराज खनाल स्वस्थानीको समयमा व्रत लिने र नलिने पनि मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको बताए । उनले भने, ‘‘स्वस्थानी सुरु भएपछि विहानैदेखि मन्दिर आउनेको संख्या बढेको छ । अब अन्तिम अन्तिम समयमा झनै भीडभाड हुन्छ ।’’

स्वस्थानी व्रत कथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि शोकमा पर्नु भएका महादेव सतीदेवीको मृत शरिर आफ्नो काँधमा बोकेर भौतारिंदै हिंड्ने क्रममा सतीदेवीको शरिरका अङ्ग खसेका ठाउँमा शक्ति पीठ स्थापना भए । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख छ । यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वकालदेखि पूजा गर्न थालिएको धार्मिक इतिहास पाइन्छ ।

स्वस्थानी व्रत कथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको छ । यो शक्तिपीठको कथा सुनेका र महत्व बुझेकाहरु टाढाटाढादेखि दर्शनका लागि यहाँसम्म आउने गरेको पुजारी खनालले बताए । मन्दिरमा आठ जना पुजारी रहेका छन् । पुजारी कमल भट्टराईका अनुसार मन्दिरमा दर्शन गर्न सामान्यत: दैनिक दुई सय हाराहारीमा दर्शनार्थी आउने गरेका छन् । तर शनिबार भने ४०० देखि ७०० जनासम्म आउने गरेको उनको भनाइ छ ।

दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चारवटा नवरात्र असोज, माघ, चैत र असार महिनामा विधिवत् पूजाअर्चना गरिन्छ । त्यसमध्ये पनि विजया दशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पुजा गर्नेहरुको विशेष भीड हुन्छ । दर्शनार्थीहरु यो बेला दन्तकालीमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दु:ख हट्ने, शत्रु नास हुने जस्ता विश्वास रहेको छ । यस मन्दिरमा बोका र राँगाको बलि दिनुको साथै फूल अक्षता, धुप बत्तीले पूजा गर्ने गरिन्छ ।

रान उपमहानगरपालिका–१६ बाट विजयपुर घुम्न आएका डिल्लीप्रसाद लुइटेल आफू दैनिकजसो दन्तकालीको दर्शन गर्न विजयपुर आउने गरेको बताए । मन्दिरमा दर्शन गर्दै भेटिनु भएका धरानकै कृष्ण भट्टराईको पनि दन्तकालीप्रति अगाध आस्था र विश्वास रहेको छ । आफूले मागेका र चिताएका कुराहरु पूरा हुँदै आएकाले आफू फुसर्द हुँदा मन्दिर आउने गरेको उनको भनाइ छ ।

दन्तकाली मन्दिर कहिले स्थापना भयो, कहिलेबाट पुजा गर्न थालियो भन्ने तिथि मिति त पाईंदैन तर स्वस्थानी व्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यो निक्कै पुरानो मन्दिर भएकोमा द्विमत छैन । पुराणमा समेत उल्लेख भएकाले यसलाई पौराणिक धार्मिक स्थलका रुपमा चिनिन्छ । दन्तकाली शक्तिपीठको चर्चा शिव पुराण र रुद्राक्षारण्य महात्म्यमा पनि रहेको पाइन्छ । इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरुले पनि दन्तकालीलाई शक्तिपीठका रुपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ ।

यस मन्दिरमा सयौं वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । यहाँका खनालहरुसँग १८६८ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर रहेका छन् । हाल दन्तकालीका मुल पुजारी विश्वराज खनाल आफू आठौं पुस्ताको पुजारी भएको बताउनुहुन्छ । उहाँका अनुसार दन्तकाली मन्दिरका पुजारीका रुपमा खनालहरु १५०२ सालतिर आएका थिए । अहिले यहाँ तिनै खनालका सन्तानका दशौं पुस्ता भइसकेका छन् ।

दन्तकाली मन्दिर नजिकबाट धरान बजारको रमणीय दृष्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि धरान घुम्न आउने पर्यटकहरु विजयपुर उक्लिएर दन्तकालीको दर्शन गर्दै रमणीय स्थलहरुको अवलोकन गर्ने गरेका छन् । धरानको शिरका रुपमा रहेको विजयपुर धार्मिक तथा ऐतिहासिक स्थलकै रुपमा परिचित छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर लगायतका मन्दिरहरु रहेको विजयपुरलाई धरान उपमहानगरपालिकाले पनि धार्मिक स्थलका रुपमा विकास गर्ने नीति लिएको छ ।

विजयपुर क्षेत्रमा धार्मिक पर्यटक आउने भएकाले यसलाई अझै व्यवस्थित बनाएर विकास गर्न सकिने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ । उनले भने, “विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिरहरु प्रशस्त रहेकाले यसको एकीकृतरुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।”


Recommended For You