काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए ।
महर्जन २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।
वडाध्यक्ष महर्जनको निधनमा बिहीबार कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दु:ख व्यक्त गरे । उनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागिता थियो ।