काठमाडौँ । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहरु अहिले पनि सकारात्मक छैनन् । न्युन राजस्व असुली, कमजोर पुँजीगत खर्च, बढ्दो चालु खर्च, वर्षेनि बढिरहेको सार्वजनिक ऋण र त्यसको साँवा–ब्याजको दायित्वलगायतसमस्या ज्युँका त्युँ छन् ।
पुँजी निर्माण र आन्तरिक उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्षित अङ्कभन्दा निकै तल छ । बेरोजगारी र युवा पलायनको समस्या हल हुन सकेको छैन । बैंक–वित्तीय संस्थामा तरलता सहज भएका ब्याजदर घट्दो क्रममा रहे पनि कर्जाको माग बढ्न सकेको छैन । बढ्दो मुद्रास्फीति र घट्दो बजार मागले उपभोक्ता बजार चलायमान बन्न सकेको छैन । ठूलो लगानी रहेका घरजग्गा र पुँजीबजार क्षेत्रमा पनि उल्लेख्य चमक छैन । यसै सन्दर्भमा पछिल्लो एक वर्ष अवधिमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तनलाई तुलनात्मक समीक्षा गरिएको छ ।
बाह्य क्षेत्र
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९. ९प्रतिशतले वृद्धि माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । गत वर्षको यही अवधि अर्थात् २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । जबकि, गत आर्थिक वर्ष २०७९र८० को माघ मसान्तसम्ममा १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति थियो । अहिले विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.३ प्रतिशत छ । गत वर्ष माघ मसान्तसम्ममा यस्तो अनुपात २५.१ प्रतिशत थियो ।
चालु खाता एवं शोधनान्तर स्थिति
गत आर्थिक वर्ष २०७९र८० को माघ मसान्तसम्म २९ अर्ब ६४ करोडले घाटामा रहेको चालुखाता अहिले एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ । गत वर्षको माग मसान्तसम्ममा एक अर्ब ४ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी मुलुकले भित्र्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब १८ करोड छ । त्यसैगरी, ०७९ माघ मसान्तमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेकोमा ०८० माघ मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ ।
विप्रेषण आप्रवाह
गत आर्थिक वर्ष २०७९र८० को सुरुवाती सात महिना अर्थात् माघ मसान्तसम्ममा मुलुकले छ खर्ब ८९ अर्ब ८८ करोड विप्रेषण भित्र्याएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो आवको शुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि हो ।
वैदेशिक व्यापार
चालु आर्थिक वर्षको सरुवाती सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले कुल ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा निर्यात मात्र नभई आयात पनि घटेको छ । गत आर्थिक वर्ष २०७९र८० को सात महिनामा कुल नौ खर्ब १९ अर्ब १७ करोड बराबर रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ ।
सरकारी वित्त
गत आर्थिक वर्ष २०७९र८० को सात महिनामा सङ्घीय सरकारको कुल खर्च छ खर्ब ६७ अर्ब ६६ करोड थियो । जसमध्ये चालु खर्च पाँच खर्ब ३१ अर्ब ५० करोड, पुँजीगत खर्च ६६ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च ६९ अर्ब ८६ करोड थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च खर्ब ८६ अर्ब ७५ करोड पुगेको छ । यो अवधिसम्मको चालु खर्च पाँच खर्ब ९ अर्ब ४ करोड, पँुजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्थातर्फको खर्च एक खर्ब १४ अर्ब १३ करोड रहेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष चालु र पुँजीगत शीर्षकको खर्च घटेको छ भने वित्तीय व्यवस्था शीर्षकको खर्च बढेको छ । वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट सार्वजनिक ऋणको साँवा ब्याज तिर्न खर्च हुने गरेको छ ।
गत वर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा पनि उल्लेख प्रगति देखिँदैन । गत आर्थिक वर्षको सात महिनामा सरकारले कर राजस्वतर्फ चार खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड गरी कुल पाँच खर्ब १४ अर्ब ६९ करोड राजस्व परिचालन भएको देखिन्छ । चालु आर्थिक वर्षको सोहि अवधिमा समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर ५६ अर्ब ९१ करोड गरी कुल पाँच खर्ब ६७ अर्ब ४० करोड राजस्व परिचालन भएको छ ।
०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ४ अर्ब ९२ करोड नगद रहेकोमा गत माघ मसान्तसम्ममा रु दुई खर्ब १५ अर्ब २६ करोड नगद मौज्दात छ ।
मुद्रास्फीति
मुद्रास्फीति वृद्धिदर गत वर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ५.०१ प्रतिशत छ ।
सेवा क्षेत्र
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा खुद सेवा आय ३७ अर्ब २६ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब ४५ करोडले घाटामा थियो । गत आर्थिक वर्षको सरुवाती सात महिनामा विदेश भ्रमणका लागि नेपालबाट ६२ अर्ब ५७ करोड बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४९.९ प्रतिशतले बढेर एक खर्ब ४ अर्ब ७५ करोड पुगेको छ । विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले गर्ने खर्च अर्थात् शिक्षातर्पmको व्यय चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड छ । गत आर्थिक वर्षको शुरुवाती सात महिनामा यस्तो खर्च २२ अर्ब ६० करोड बराबर थियो ।
विनिमय दर
०८० असार मसान्तको तुलनामा ०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली मुद्रा १.०५ प्रतिशतले अवमूल्यन भएको छ । गत माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय ३२.५६ पुगेको छ । ०७९ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय ३१.७० पुगेको छ ।
निक्षेप र कर्जा परिचालन
गत वर्ष ०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा तीन खर्ब ९७ अर्ब २० करोड रहेको छ । त्यस्तै, गत वर्षको सरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब २१ करोड बराबर कर्जा प्रवाह भएको छ ।
ब्याजदर
०७९ मा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा अहिले घटेर ०८० माघसम्म पुग्दा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा ०८० माघमा ३.०४ प्रतिशत रहेको छ । ०८० माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत थियो ।
