नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन

कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

आयकरबाट एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख, ब्याजबापत तीन करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट एक लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४.८४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवमा तीन अर्ब आठ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७.८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

“करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ”, उनले भने, “आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सङ्कलनमा कमी आएको छ ।” कार्यालयको आव २०७९÷८० मा तीन अर्ब ३६ करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा दुई अर्ब ५७ करोड ९८ लाखमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ७६.७८ प्रतिशत मात्रै थियो ।


Recommended For You