कैलालीका थारु समुदायमा भजहरको रौनक

कैलाली । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका एक सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्र्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुुलाचौरमा उनीहरु कुुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुरलगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुधराम चौधरीले जानकारी दिए । यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उनले बताए । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ ।

दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरीले बताए । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुदायमा दुई दिन पूरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका–११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिए ।

भजहरको किंवदन्ती

भजहरको सुरुआत कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुट्टाछुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा रामप्रसाद चौधरीले बताए । धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उनले सुनाए । रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात्, जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरीले बताए ।

सीताको किंवदन्तीसँग जोडिएको भजहरमा बिस्तारै गुुरुवाहरुले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा चौधरीले जानकारी गराए । उनका अनुुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरीले बताए । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उनले जानकारी गराए ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज नै सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्ररुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुुखदुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरीले बताए । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्ररुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ ।


Recommended For You