बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ ।” अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।

सिआइबीमा बिहीबार बाल सङ्गठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए । नेपाल बाल सङगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले ०४९ सालदेखि ०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा ०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल सङगठनले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जाहेरी दिएको बताइएको छ ।


Recommended For You