काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाको सात करोड ५३ लाख लगानीमा चमतीमा निर्माण भएको उक्त भवन तथा सालिकको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन तथा अनावरण गरिन् ।
उपप्रमुख डङ्गोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका रुपमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसके मात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उनले भनिन् । उपप्रमुख डङ्गोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गरिन् । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताइन् । उनले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएकोमा खुसी व्यक्त गरिन् ।
०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरिद गरी ०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिए ।
