धितोपत्र व्यवसायीको कमिसन घट्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १ जेठबाट लागू हुने गरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिसन)घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ ।

“धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीबापत लिन सक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ ।
यसअघि ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ०.३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि पाँच करोडसम्मको कारोबारमा ०.३७ प्रतिशत सेवा शुल्क रहेकोमा त्यसलाई घटाएर ०.३३ प्रतिशत कायम गरिएको छ ।

बोर्डका अनुसार पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत सेवा शुल्क लाग्दै आएको त्यसलाई ०.३१ प्रतिशतमा झारिएको छ । २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा त्यसलाई ०.२७ प्रतिशतमा झारिएको छ । त्यसैगरी, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा ०.२४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।


Recommended For You