वीरगञ्ज । देशको सङ्घीय राजधानी काठमाडौँबासीले साताको एकपटक फोहोरमैला सङ्कलन गर्न गाडी आउँदा पनि राहतको महसुस गर्छन् । घरभित्र थुप्रिएको फोहोरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् ।
राजधानीवासीलाई सुन्दै अनौठो र अचम्मित पार्ने दृश्य मधेस प्रदेशकै एक मात्र महानगर वीरगञ्ज महानगरमा देख्न पाइन्छ । औद्योगिक र व्यापारिक नागरिकको उपमा पाएको वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला सङ्कलन हुँदै आइरहेको छ । महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला सङ्कलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर सङ्कलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैँन । उद्योगी÷व्यवसायी तथा सरकारी निकायले मासिक तीन सयदेखि रु तीन हजारसम्म शुल्क तिर्नुपर्ने नियम छ ।
वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व सम्हालेसँगै फोहोरमैला सङ्कलनलाई उच्च प्रथामिकतामा दिँदै आइरहेका छन् । जनस्तरबाट भने अपेक्षाकृत रुपमा फोहोरमैला व्यवस्थापनमा सचेतना अपनाएको कमै मात्र देखिन्छ । नगरप्रमुख सिंहले सामान्य अवस्थामा दिनको दुईपटक फोहोरमैला सङ्कलन गर्दै आइरहेको बताए । ‘‘चाडपर्वको समयमा दिनको तीन पटकसम्म पनि फोहोरमैला सङ्कलन गर्दै आएका छौँ”, उनले भने, “महानगरको फोहरमैला व्यवस्थापनको कार्यमा अझै पनि म व्यक्तिगत रुपमा सन्तुष्ट छैन । सहरी क्षेत्रमा फोहोरमैला केहीहदसम्म नियन्त्रणमा आएको छ । ग्रामीण क्षेत्रमा अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन ।”
महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५–६५ मेट्रिक टन फोहोरमैला सङ्कलन हुँदै आएको छ । विगत छ वर्षदेखि फोहोरमैला सङ्कलन र व्यवस्थापनको काम निजी क्षेत्रबाट हुँदै आएको छ । महानगरले ठेक्का सम्झौता गरेर यहाँको फोहोरमैला व्यवस्थापनको काम पृथ्वी÷तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएका थियो । जेभीले वीरगञ्ज महागरका ३२ वटै वडाको फोहरमैला सङ्कलन गर्दै आइरहेको छ । महानगर र जेभीबीच २०७६ जेठ २ गते पाँच वर्षसम्मका लागि सम्झौता भएको थियो ।
महानगरका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर फोहोरमैला व्यवस्थापनको जिम्मेवारी दिएको बताए । “महानगर र निजी कम्पनीसँग यहाँको फोहोर सङ्कलन तथा व्यवस्थापनको विषयमा पाँच वर्षको ठेक्का सम्झौता भएको थियो”, उनले भने, “उक्त ठेक्का सम्झौताको म्याद सम्पन्न भइसकेको छ । नयाँ ठेक्काको प्रक्रिया अघि बढे पनि टुङ्गो लागिसकेको छैन ।”
महानगर र जेभीबीच भएको सम्झौतामा प्रत्येक वर्ष फरक–फरक दररेटमा फोहोरमैला सङ्कलन गर्ने उल्लेख गरिएको छ । सम्झौताको पहिलो वर्ष महानगरभित्र उत्पादन हुने फोहोरमैला निजी क्षेत्रले व्यवस्थापन गरेबापत आव २०७५÷७६ मा चार करोड ८४ लाख रकम दिने सम्झौता गरेको थियो । दोस्रो वर्ष आव २०७६÷७७ मा रु पाँच करोड सात लाख ५६ हजार दिने उल्लेख छ । आव २०७७÷७८ मा रु पाँच करोड २८ लाख ८८ हजार, आव २०७८÷७९ मा पाँच करोड ५० लाख र आव २०७९÷८० मा पाँच करोड ७२ लाख रकम उपलब्ध गराइएको थियो । अहिले महानगरले पाँच करोड ७२ लाखमा खर्च तिरेर फोहरमैला व्यवस्थापन गराउँदै आइरहेको छ ।
निजी कम्पनीले दैनिक २५ ट्र्याक्टर तथा तीन ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइएको जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन गरेबापत सर्वसाधारणबाट कुनै शुल्क लिदैन । उद्योगी तथा व्यापारीसँग मासिक रु तीन सय देखि रु तीन हजारसम्म लिने गरिएको जनाइएको छ । यहाँबाट निस्कने फोहरमैलाको व्यवस्थापन पर्सा र बारा जिल्लाको सीमा क्षेत्र विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याल्डफिल्ड साइडमा हुँदै आएको छ ।
