काभ्रेपलाञ्चोक । आर्थिक वर्ष २०७९–८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९–८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आवमा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८–७९ मा गरिएको लेखापरीक्षणमा ०.२६ प्रतिशत बेरुजु देखिएको थियो ।
गाउँपालिकामा अध्यक्ष कान्छाला जिम्बाले अघिल्लो वर्ष केही बेरुजु देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताए । उनले भने, “बेरुजु शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो ।” महाभारत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’मा सूचीकृत गाउँपालिका हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको ०.२२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको २ अर्ब ६६ करोड लेखापरीक्षण भएको थियो । यसैगरी रोशी गाउँपालिका ०.६६ प्रतिशत बेरुजू देखिएको छ भने भुम्लु गाउँपालिकामा सबैभन्दा धेरै ४.२३ प्रतिशत बेरुजु देखिएको छ । उक्त गाउँपालिकाभन्दा दोस्रो धेरै बेरुजु देखिनेमा ३.२६ प्रतिशतको नमोबुद्ध नगरमा रहेको छ ।
त्यस्तै ०७८–७९ मा गरिएको लेखापरीक्षणमा खानीखोला गाउँपालिकाको १.१९, बनेपा नगरको १.०२ प्रतिशत, बेथानचोक गाउँपालिकाको १.२१ प्रतिशत, मण्डनदेउपुरमा १.४२, धुलिखेल नगरमा १.६३ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा १.७९ र पाँचखाल नगरको १.९९ प्रतिशत बेरुजु देखिएको हो ।
