काठमाडौँ । साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् । उनीहरु निराहार ब्रत बसेर भगवान् शिवको पूजा अराधना गर्ने गर्छन् ।
पशुपतिनाथमा भक्तजनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएका छन् । पशुपतिनाथका साथै ललितपुरको कुम्भेश्वर मन्दिरमा समेत दर्शनार्थीले पूजाआजा गरेका छन् ।
