दमौली । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि नकुहिने फोहोर उठेको छ । १ साउनदेखि नउठेको फोहोर नगरपालिकाले मङ्गलबार उठाएको हो । नकुहिने फोहोर उठ्न नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहोरको थुप्रो भएको थियो ।
व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहोर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, “भतेरीमा फोहोर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।” तारजाली मात्रै हुँदा मादी नदीको पानीले कटान गर्नसक्ने भएकाले फोहोर र माटो हालेर पुरेर बलियो बनाउन लागिएको रानाको भनाइ छ । उनले भने, “१०÷१५ दिनका लागि बजार क्षेत्रका फोहर भतेरीमा लगेर ठाउँ सम्याउन प्रयोग गरिनेछ, त्यसो गर्दा यहाँ करिब २० मिटरको बाटो बनाउन सकिनेछ ।”
फोहोर फाल्ने ठाउँको अभावमा नगरपालिकाले नकुहिने फोहोर उठाउन सकेको थिएन । नगरपालिकाले कार्यालय परिसरभित्रै फोहोर व्यवस्थापनको तयारीसमेत गरेको छ । व्यास–३ भतेरीमा नकुहिने फोहोर बिसर्जन हुँदै आएकामा असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि यही १ साउनदेखि दमौली बजारको वडा नम्बर २, ३ र ४ बाट नकुहिने फोहर सङ्कलन हुन सकेको थिएन ।
हाल कुहिने नकुहिने फोहर सङ्कलनलाई स्रोतबाटै वर्गीकरण गरिएकामा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गणभित्रै फोहोर व्यवस्थापनको तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कुहिने फोहोर भने दैनिक रुपमा सङ्कलन भइरहेको छ ।स्थापनाको ३१ वर्षसम्म पनि नगरपालिकाले फोहोरमैला केन्द्र निर्माण गर्न सकेको छैन । नगरपालिकाले व्यास–१३ मा जग्गा खरिद गर्न कानुनी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले फोहोरलाई सानो आकारमा राख्ने कम्प्रेसन मेसिन खरिद गर्ने र सरसफाइका पाँच गाडीमा जिपिएस जडान गर्ने प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिसकेको छ ।
सदरमुकाममा अवस्थित नगरपालिकाले पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षामा केही प्रगति गरे पनि फोहरमैला व्यवस्थापनमा भने प्रगति गर्न सकिरहेको छैन । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहोरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले सधैँ समस्या भोग्दै आएको छ । कहिले भतेरीमा, कहिले चारकुने र कहिले सोढेँमा फोहोर फाल्दै आएको नगरपालिकाले पछिल्लो पटक अस्थायी समयका लागि पुनः भतेरीमा फोहर विसर्जन गर्दै आएको थियो । यसअघि नगरपालिकाले व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिका त्यसबाट पछि हटेको थियो ।
नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिकरुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहोर सङ्कलन हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गैरेका अनुसार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित कुहिने फोहर व्यास–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।
